जिल्ला अस्पताल उदयपुरमा अवरुद्ध प्रसुती सेवा सुचारु !

E Naya Khabar Reporter २०७६ मंसिर ११ गते बुधवार | Big News, ताजा अपडेट, समाचार

 

उदयपुर ः उदयपुर जिल्ला अस्पतालमा एक वर्ष देखि रोकिएको शल्यक्रियाद्धारा बच्चा निकाल्ने सेवा पुन संचालनमा आएको छ।

एकजना स्त्रीरोग विशेषज्ञ गाईनोलोजिस्ट चिकित्सकको आगमनसँगै अस्पतालमा यो सेवा सुचारु भएको हो। अस्पतालमा सोमबारदेखि नै सिएस सेवा सुचारु भएको अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले जानकारी दिए। उनका अनुसार स्त्री रोग सम्बन्धी विशेषज्ञ अमरेसकुमार मण्डलको आगमन भएपछि उदयपुर अस्पतालमा सिएस सेवा सुचारु भएको र जिल्लाबासीले महँगो शूल्क तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गराउनु पर्ने बाध्यता अब नरहेको बताए।

विगत एकवर्ष देखि गाईनोलोजिस्ट चिकित्सकको अभावमा सिएस रोकिँदा सर्बसाधारणलाई गाईघाटकै नीजि अस्पताल र बिराटनगर, धरान र जनकपुर तथा काठमाडौंसम्म पुगेर महँगो शूल्कमा सुत्केरी गराउनु पर्ने बाध्यता थियो। तत्कालीन गाईनो तथा अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पवनकुमार साहको कटारी अस्पतालमा सरुवा भएसँगै उदयपुर अस्पतालमा सिएस सेवा बन्द भएको थियो।

सुविधा सम्पन्न भवन तथा अन्य भौतिक पूर्वाधार र उपकरणयुक्त भएपनि चिकित्सकहरुको अभावमा जिल्ला अस्पताल ‘रेफर सेन्टर’ मा परिणत भएको थियो । यस्तो अवस्थाबाट सुधार गर्न अस्पताल विकास समितिले मन्त्रालय र प्रदेश सरकारसँग आग्रह गरेर आवश्यक चिकित्सकहरु थप गरेपछि सिएस सुचारु भएको अध्यक्ष परियारले बताए।

उनका अनुसार नयाँ सरुवा आएका एमडिजिपी डाक्टर अमरेस मण्डलसँगै मेडिकल अधिकृतहरु डा.जीवनारायणा मण्डल, डा.चन्दन गुप्ता र डा.राकेश गिरीसमेत सरुवा भई आएपछि उदयपुर अस्ताल अहिले चित्सिकमय भएको छ ।मेडिकल अधिकृतहरु डा. अरुण मण्डल र डा.विजय मेहता यस अघि नै यहि कार्यरत रहेकाले अब अस्पतालमा चिकित्सक अभाव हटेको अस्पतालका प्रशासन प्रमुख बृखबहादुर खत्रीले बताए।

स्थानीयका अनुसार निजी अस्पतालले एउटा सिएस गरे बापत २५ देखि ४० हजारसम्म शूल्क असुल्ने गरेकाछन्। तर सरकारी अस्पतालमा सिएस गराए वापत उल्टै सरकारले अस्पताललाई सातहजार पाँचसय रुपियाँ सहयोग दिने गरेको प्रशासन प्रमुख खत्रीले बताए।

सरकारी अस्पतालले सुत्केरीलाई आवश्यक सम्पूर्ण औषधि र सुत्केरी सामाग्रीसमेत निःशूल्क गर्भवती महिलालाई दिने गरेको छ । उदयपुर अस्पताललाई पाँचवर्ष अघि मात्रै ५० शैयामा स्तरोन्नति गरिए पनि दरवन्दी अनुसार चिकित्सकहरुको अभावमा जिल्लाबासीले नियमित पाउनु पर्ने स्वास्थ्य सुविधा पाउन सकिरहेकाछैनन।

सबैभन्दा बढी जटिल खालका गर्भवतीको सुत्केरी गराउने सेवा नै महत्वपूर्ण रहेको भएपनि अस्पतालमा पटक पटक सिएस सुचारु हुँदै रोकिदै आएको थियो। पाँच वर्ष अघि डाक्टर चुमनलाल दास आएपछि शुरु भएको यो सेवा उनको सरुवा भएसँगै वन्द भएको थियो। ६ महिनापछि डा.फनिन्द्र बराल आएपछि सुचारु भएको सेवा पनि उनको सरुवासँगै पुनः रोकिएको थियो।

पछिल्लो समय डा.पवन साहको आगमन पछि फेरी सुरु भएको सिएस उनको सरुवा भएपछि पून रोकिएकोथियो। डाक्टरहरु आए पछि बिरामीहरु लाई सहज भएको स्थानिय सिताराम राउतले बताए।

589 पटक हेरिएकाे
Top