उदयपुरमा यस बर्ष बासमती उत्पादन घट्यो !

E Naya Khabar Reporter २०७६ मंसिर ११ गते बुधवार | ताजा अपडेट, समाचार

 

उदयपुर: पछिल्लो समय स्थानीय बासमती धानको उत्पादन कम हुँदै गएको छ। अन्य वर्णसंकर (हाइर्विड) जातका धानको उत्पादन बृद्धिसंगै रैथाने बासमतीको उत्पादन घटेको हो। धानमध्ये बासमति सबै भन्दा राम्रो मानिन्छ। धानमा फौजी किराको आक्रमण र सिँचाइ अभावले उत्पादन घटेको हो ।
लागतअनुसार उत्पादन कम, समय पनि बढी लाग्ने भएकाले दशकयता कम खेती गर्न थालिएको त्रियुगा नगरपालिका ११ गाइघाटका किसान प्रदीप चौधरीले बताए।
कृतिम बास्ना हुने आयातित बासमतिले बजार ओगटेकाले सक्कली वासमति विस्थापित हुदै गएको किसान मानबहादुर मगरले बताउछन।

किसान बासमतीको साटो,छोटो समयमा तयार हुने धेरै उत्पादन दिने उन्नत जातको धानखेतीमा आकर्षित भएका हुन। कटारि नगरपालिका ७ का रमेश राउतले भने, ‘वासमती, करियाकामत (कालो वासमति) र चनमचुरले पहिलेजस्तो उत्पादन दिन छोडे ।’ त्यसैले अहिले किसानले आफूलाई खान पुग्ने मात्र खेती गर्ने गरेको उनको भनाइ छ।

त्रियुगा नदि किनारका खेतमा अहिले पहिलेजस्तो बासमति खेती नहुने चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका वडाध्यक्ष देवनारायण चौधरीले बताए । ‘बाजेले १० बिघा खेतमा बासमती खेती गर्दै आउनुभएको थियो,’ उनले भने, ‘बुबाले ३/४ बिघामा वासमति लगाउनुभएको थियो । अहिले पहिले जस्तो जग्गापनि छैन, रोपेपनि फल्दैन ।’ उनले यस बर्ष १५ कठ्ठामामात्रै वासमति धानको खेती गरेका छन् ।


स्थानीय बजारमा अहिले वासमिति धानको चामल प्रती किलोग्राम १ सय ३० रुपैयाँ पर्ने गरेको छ।हाइब्रिड धानको विकाससंगै परम्परागत धान लोप हुदै गएको र ‘बासमतिको समेत उन्नत जातको बिउ आएको छ। तर यसमा पहिलेजस्तो बास्ना आउँदैन,’ त्रियुगा नगरपालिका–३ मोतिगडा तुलसी पाण्डेले भने, ‘धानमा पर्याप्त सिँचाइ र कम्पोष्ट मलको प्रयोग गर्न नसक्दा वासमति लगायतका धान लोप भएको’ बताए।पर्याप्त सिचाइको लागि आवश्यक पर्ने खोला पानीका मुहान तथा किसानले गाईबस्तु पाल्न छोडेका कारण कम्पोष्ट मल उत्पादन निकै कमि आएको जिल्ला कृषि ज्ञान केन्द्रका सुचना अधिकारी नरनाथ रेग्मिले बताए। जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार उदयपुरमा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये ७ हजार ३ सय ३ हेक्टरमा मात्रै सिचाई सुविधा छ ।

372 पटक हेरिएकाे
Top