स्वर्गीय कार्कीको उपन्यास ‘बोर्डर’ सार्वजनिक

E Naya Khabar Reporter २०७४ पुस ८ गते शनिवार | ताजा अपडेट, समाचार, साहित्य

 

काठमाडौँ, सुदूरपूर्वी नेपालको ४०/५० वर्षअघिको यथार्थ जनजीवनको घटनालाई समेटेर साहित्यकार स्वर्गीय रविन्द्र कार्कीले लेख्नुभएको उपन्यास ‘बोर्डर’ सार्वजनिक गरिएको छ ।

आज  आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला, साहित्यकार विप्लव प्रतिकलगायतले उपन्यास सार्वजनिक गर्नुभयो ।

सो अवसरमा उपकुलपति काइँलाले नेपालको हरेक सिमानामा नेपालीले सदियौँदेखि भोग्नुपरेका समस्यालाई उपन्यासले सरल र सहज ढंगले समेटेको बताउनुभयो ।उहाँले भन्नुभयो, “उपन्यासमा सीमावर्ती झापाका ग्रामीण बासिन्दाले भोग्नुपरेको समस्या र त्रासदिको सजिव प्रस्तुति त छँदैछ, समाजको समग्र चित्रण ‘बोर्डर’को क्यान्भासमा देख्न सकिन्छ, त्यहाँको सामाजिक जीवनको एक कालखण्डलाई उपन्यासकारले मिहिन ढंगले केलाएका छन् ।”

उपन्यासले नेपाली साहित्यमा एउटा निश्चित ठाउँ बनाउने विश्वास व्यक्त गर्दै उहाँले सरल भाषामा लेखिएकाले पनि उपन्यास आम पाठकले रुचाउने बताउनुभयो ।उहाँले भन्नुभयो, “यस उपन्यासको कथाको पृष्ठभूमि सर्वथा नौलो छ, लेखकको यो पहिलो उपन्यास हुँदाहुँदै पनि उपन्यासकारिताको कमी छैन ।”

साहित्यकार एवं उपन्यासका सम्पादक विप्लव प्रतिकले पहिलो भेटमै कार्कीले आफूलाई केही पाण्डुलिपि दिएको र आफूले पढेपछि यो पाण्डुलिपि त्यसै थन्किन हुँदैन, प्रकाशित हुनुपर्छ भन्ने लागेपछि आफूले पुस्तकका रुपमा प्रकाशित गर्न प्रेरणा दिएको बताउनुभयो ।

सञ्चारकर्मी फणिन्द्र संगम, डोलेन्द्र थापालगायतले सिमानामा नेपालीले भोग्नुपरेका समस्या र लुकेका पाटालाई उपन्यासले सहजढंगले प्रस्तुत गरेकाले पाठकको मन छुने बताउनुभयो ।उपन्यासमा आधा शताब्दीअघिको काठमाडौँको मध्यम वर्गीय समाजको एउटा पाटो र पूर्वी नेपालको समाज र सिमानामा नेपालीले भोग्नुपर्ने दुःख, त्यहाँ हुने कारोबारको यथार्थ चित्रण गरिएको छ ।

इन्डिगो इन्कद्वारा प्रकाशित उपन्यास २५० पृष्ठको छ भने यसको मुल्य रु ५९९ रहेको छ ।

89 पटक हेरिएकाे
Top