कैलाली निर्वाचन क्षेत्र २ को (क) र (ख) मा वाम गठबन्धन विजयी

E Naya Khabar Reporter २०७४ मंसिर २६ गते मंगलवार | फिचर

 

कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) र (ख)को प्रदेशसभा सदस्यमा वाम गठबन्धन विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा (क)मा एमालेका रतन थापा १३ हजार ६३२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमबहादुर रावलले ११ हजार ५६५ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (ख)मा माओवादी केन्द्रका नन्दबहादुर साउँद १२ हजार ७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका अरुणकुमार चौधरीले ११ हजार २३२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यको मतगणना भने अन्तिम चरणमा पुगेको छ । पछिल्लो परिणामअनुसार एमालेका झपट रावलले २० हजार १८३ मत पाउँदा नेकाका मोहनसिंह राठौरले १७ हजार ५०८ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा ५८ हजार ८७८ मत खसेकामा अब १३ हजार २८३ मत गणना हुन बाँकी रहेको छ ।

यसअघि कैलाली जिल्लाको प्रतिनिधिसभाको चार निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा निर्वाचन क्षेत्र नं १ मा राजपा नेपालका रेशमलाल चौधरी, क्षेत्र नं ३ मा माओवादी केन्द्रका गौरीशंकर चौधरी, क्षेत्र नं ४ मा माओवादी केन्द्रका लेखराज भट्ट र क्षेत्र नं ५ मा एमालेका नारदमुनि राना विजयी हुनुभएको छ ।

139 पटक हेरिएकाे
Top