विराटनगरमा एक वर्षभित्र आउँदैछ रेल

E Naya Khabar Reporter २०७५ जेठ २ गते बुधवार | Big News, अर्थ

 

विराटनगरमा रेल आउने हल्लासँगै धेरैको मनमा यस्ता प्रश्न खेल्न थालेका छन् । के साँच्चै आउँला रेल ? कि यो हल्ला पनि सपनामै सीमित हुने हो ? तर, एक वर्षभित्रै विराटनगरबासीले रेल कुदेको हेर्न पाउने भएका छन् । प्रारम्भिक चरणमा मालबहाक रेल आउनेछ । नेपालतर्फको तीन किलोमिटर क्षेत्रको मुआब्जा विवाद समाधान भएको छ । सन् २०१९ मार्चसम्ममा विराटनगरमा रेल ल्याउने गरी भारतीय निर्माण कम्पनी इर्कनले बथनाहा कटहरी रेल्वे परियोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । अहिले नेपालतर्फ धमाधम लिक बिछ्याउने काम भइरहेको छ । ३७३ करोड भारतीय रुपैयाँको लगानीमा बन्ने रेलमार्ग भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८.६ किलोमिटर रहेको छ । निर्माण कम्पनीका मेनेजर डाइरेक्टर प्रदीप कुमारले आगामी अक्टोबरसम्म नेपालको सीमासम्ममा रेल आउने बताए । उनले भने, ‘नेपालमा जग्गाको समस्या समाधान भए आउँदो मार्चसम्ममा कटहरीसम्म रेल कुदेको तपाईहरुले हेर्न पाउनुहुनेछ ।’  उनका अनुसार नेपालमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी छेउमा भने आगामी अक्टोबरसम्म रेल आउनेछ । उक्त स्थानमा अहिले धमाधम रेल स्टेशन निर्माण भइरहेको छ । निर्माण कम्पनीका अनुसार बथनाहादेखि एक दुई दिनपछि रेलको लिक बिछ्याउने काम सुरु हुँदैछ । बीचको रेल्वे लाइन निर्माणको काम धमाधम भइरेको छ । गत मार्च मसान्तसम्ममा आयोजनाको रकममध्ये २१३ करोड रकम खर्च भइसकेको छ भने ६० करोड बराबरको काम कटहरी स्टेशनको जग्गा विवादले रोकिएको छ । जग्गा विवाद समाधान हुने बित्तिकै उक्त रकम खर्च गर्ने क्रम सुरु हुनेछ ।

276 पटक हेरिएकाे
Top