प्रक्रिया पुरा नभएको भन्दै जनकपुर(अयोध्या बस बन्द सेवा

E Naya Khabar Reporter २०७५ जेठ १ गते मंगलवार | Big News

 

भारतका प्रधानन्त्री नरेन्द्र मोदीको धार्मीक भ्रमणको अवसरमा दुबै देशका प्रधानमन्त्रीहरुले संयुक्त रुपमा उद्घाटन गरिएको जनकपुरधाम देखि अयोध्यासम्मको बस सेवा बन्द भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको धार्मिक भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीहरूले हरियो झन्डा देखाएर उक्त बस सेवाको आरम्भ गरे लगतै गत शुक्रवार जनकपुरधामबाट अयोध्याका लागि दुईवटा बस गएका थिए । अयोध्याबाट फर्किएका दुई बस पछि यातायात सेवा बन्द भएको हो ।

तर नेपालको जनकपुरलाई ’रामायण सर्किट’ भनिएको धार्मिक पर्यटन मार्गमा जोड्ने भनि प्रचार गरिएको उक्त बस सेवा प्राविधिक प्रक्रियाहरू पूरा हुन बाँकी भएकाले हाललाई रोकिएको नेपाल सरकारले जनाएको छ ।
बसबाट भारतको अयोध्या पुगेर जनकपुर फर्केका यात्रुहरूले भने खुसी व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिर परिसरबाट संयुक्त रूपमा शुभारम्भ गरेको उक्त बस सेवा नियमित रूपमा सञ्चालन हुन केही महिना लाग्ने बताइएको छ।
बस सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रियाहरू पूरा हुन बाँकी नै रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला उक्त बस सेवा स्थायी रूपमा नभई साङ्केतिक रूपमा मात्र सुरु गरिएको बताएका छन्।

“अस्ति त हतारमा ’ल, सिम्बोलिक रूपमा चलाइहालौँ’ भन्ने कुरा भो, वर्कआउट गर्न बाँकी नै छ धेरै, यो रूटका बारेमा,“ प्रवक्ता शर्माले जानकारी दिए।
जनकपुर(अयोध्या बस सेवा स्थायी रूपमा सञ्चालन गर्न पूरा गर्नु पर्ने औपचारिक प्रक्रिया धेरै नै बाँकी रहेको उनको भनाइ छ।

’रामायण सर्किट’ अन्तर्गत राम र सीताको चरण परेका स्थलहरुलाई जोड्ने क्रममा सीतामढी भएर अयोध्याका लागि बस सेवा सञ्चालन हुने बताइएको थियो।

यो योजनालाई आफूलाई “प्रधान तीर्थयात्री“ का रूपमा प्रस्तुत गरेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलो महत्त्वका साथ आफ्नो सम्बोधन क्रममा उल्लेख गरेका थिए।

सीतामढी भएर अयोध्यासम्मको यात्रा गर्न पाँच सय ४४ किलोमिटरको दुरी रहेको सडक पार गर्न १२ घण्टा लाग्ने बताइको छ ।
बसको भाडा, बस रोकिने स्थलहरू, बस सेवा नेपाली अथवा भारतीय कुन कम्पनीले सञ्चालन गर्ने लगायतका प्राविधिक निर्णयहरू भइसकेको छैनन्।
योजनाअनुसार हाल काठमाण्डू(दिल्लीबीच सञ्चालन भइरहेको बस सेवा सञ्चालन विद्यमान नियमानुसार नै जनकपुर(अयोध्या बस पनि चल्ने बताइएको छ।

 

 

226 पटक हेरिएकाे
Top