बैकल्पिक राजमार्ग निर्माण तिब्र गतीमा

युवराज कार्की सन्तोष २०७५ वैशाख ३० गते आइतवार | Big News, मुख्य समाचार

 

उदयपुर बैशाख २७

धरान–चतरा, गाईघाट–कटारी, सिन्धुली–हेटौडा सडक आयोजना पूर्वी खण्ड निर्माणको काम तिब्र गतिमा अघि बढेको छ । भित्री मधेसलाई राजधानी सँग जोडने सबै भन्दा छोटो राजमार्ग निर्माणको काम द्रुत गतिमा भईरहेको हो । राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम भइरहेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा न ४ विरेन्द्र चोक देखि सिन्धुलीको भिमान सम्मका  विभिन्न भागमा कलभर्ट, कज्वे र पुलपुलेसा निर्माण भईरहेको छ ।  डेढ बर्ष अघि निर्माण कार्य सुरु भएको बैकल्पिक राजमार्गको ३५ प्रतिशत भन्दा बढी काम भईसकेको आयोजना कार्यालय गाईघाटले जनाएको छ । राष्ट्रिय गौरवको योजना मानिएको धरान चतरा गाईघाट कटारी सिन्धुली हेटौडा सडक आयोजना पूर्वी खण्डमा एक सय ३४ किलो मिटर सडक पर्दछ । सडक ११ मिटर फर्मेशन चौडाई भएको कालोपत्रेयुक्त हुने छ ।  घरटहराहरुको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निमार्णहुने स्थानहरुमा हुने विवादहरु मिलान भए संगै सडक निमार्णको कार्यले द्रुत रुप लिएको हो । आर्थिक प्रगति लक्ष्यअनुसार भएका कारण आयोजनाको कामले तीव्रता लिएको निमार्णाधिन धरान चतरा गाईघाट कटारी सिन्धुली हेटौडा सडक आयोजना पूर्वी खण्ड गाईघाटका आयोजना प्रमुख उमेश विन्दु श्रेष्ठले बताए । ‘हाल सम्म भौतिक रूपमा ३५ प्रतिशतभन्दा बढी काम सम्पन्न भईसकेको छ ।’ आयोजना प्रमुख श्रेष्ठले भने ‘सडक विस्तार हुने  सिन्धुली क्षेत्रमा मुआब्जा निर्धारण भइसकेको छ घरटहराका कारणले काम रोकिने अवस्था अव छैन ।’ उदयपुर तर्फको मुआव्जा सम्बन्धी फायल जिल्ला प्रशासन कार्यालयमा पेश गरी सकिएको आयोजन प्रमुख श्रेष्ठले बताए । ‘उदयपुर तर्फको मुआब्जा सम्बन्धि विषयमा छिट्टै निर्णय हुने छ ।’  निर्माण कार्यको प्रगतीबारे श्रेष्ठले भने ‘मुआब्जाको निवेदन दिन छुटेकाहरुको लागि निवेदन दिन र लगत कट्टा गर्न सुरु भई सकेको छ, केही दिन भित्रै टुङ्ग्ने छ ।’  विभिन्न स्थानहरुमा सडकको सव ग्रेड, सव वेस, होम पाइम, स्लाभ कल्भर्ट, मेसिनरी वाल लगायतका कामहरु भईरहेको निर्माण व्यवसायी जेडआईईसी शर्मा लामा जोइन्ट भेन्चरका डिपुटी कन्ट्याक्ट मेनेजर  ईन्जिनियर सिताराम दाहालले बताए । ‘उदयपुर तर्फ निमार्ण कार्यमा खासै अवरोध नभएपनि सिन्धुली तर्फ भने विधुतले विधुतका पोलहरु हटाउन ढिला भएको छ ।’  ईन्जिनियर दाहालले भने ‘विद्युतको पोल हटाउने ठेक्का लागेपनि पोल हटाउने कार्यमा ढिलाई हुदाँ सोचे अनुसार काम हुन सकेको छैन ।’ सडक योजना ३ वर्ष भित्र सम्पन्न गर्ने गरी निर्माण गरिसक्ने लक्ष्य राखि २०७३ साल कार्तिक २२ गते निर्माण व्यवसायी जेडआईईसी शर्मा लामा जोइन्ट भेन्चरले ७ अर्व ३६ करोड ९९ लाख ८४ हजारमा ठेक्का सम्झौता भएको थियो ।राजमार्गले उदयपुरको वेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुर गढीगाउँपालिका र कटारी नगरपालिका स्थानीयहरुलाई प्रत्यक्ष फाईदा पुग्ने छ । भने सिन्धुली तर्फ दुधौली नगरपालिका र कमलामाई नगरपालिका हुदै हेटौडा सम्म पुग्ने छ ।  वैकल्पिक मार्गको निर्माण कार्यमा कुनै अवरोध नआए निर्धारित समयमै निमार्ण सम्पन्न हुने देखिएको छ । आफ्नै घर आगनमा राजमार्ग निर्माण सुरु भएसगै स्थानीयहरु हर्षित भएका छन । राजमार्ग बने पछि आफुहरुलाई राजधानी सँग सहज यातायात पहँुच हुने भएकाले उदयपुरका स्थानीयहरु खुसी भएका हुन । उदयपुरको पश्चिमी क्षेत्र कटारी र सदरमुकाम गाईघाट यही राजमार्गले जोडिन्छ । यस अघि कटारीका सदरमुकाम गाईघाट आउन सिराहा र सप्तरी जिल्ला हुदै धाउनु पर्ने वाध्यता रहेको थियो । राजमार्ग बनेपछि २ नम्बर प्रदेश हुदै हिड्नु पर्ने बाध्यता हट्ने स्थानीय राजकुमार थापाले बताए । ‘मधेश बन्दको बेला सदरमुकाम गाईघाट आउन निकै सास्ती बेहोर्नू परेको थियो ।’ थापाले भने ‘सिराहा सप्तरी बन्द हुदाँ समेत सदरमुकाम गाईघाट र सुनसरीको धरान र मकवानपुरको हेटौडा सम्म सहज यात्रा गर्न पाईन्छ ।’ कुनै बाहानामा सडक निर्माणमा ढिला सुस्ती हुन नहुने स्थानीयले माग गरेका छन ।

148 पटक हेरिएकाे
Top