डमरूको डन्डिबियो स्क्रिप्ट सारडमरूको डन्डिबियो स्क्रिप्ट सार

E Naya Khabar Reporter २०७५ वैशाख २७ गते बिहीवार | Big News, मनोरञ्जन

 

सामान्य ज्ञानका पुस्तकमा लामो समयसम्म डण्डीबियो नेपालको राष्ट्रिय खेल भनेर लेखियो । तर, कहिल्यै यस खेललाई व्यवस्थित गर्ने र प्रवर्धन गर्नेतर्फ सरकारले ध्यान दिएन । गत वर्ष जेठ ८ गते मन्त्रिपरिषद् बैठकको निर्णयले डण्डीबियो खेलका सबै पारखीहरुलाई स्तब्ध बनायो । यस दिन अमेरिकाबाट विकसित भएको भलिबलले नेपालको राष्ट्रिय खेल घोषित हुने सुअवसर पायो । नेपाली मौलिक खेलको मर्ममाथि प्रहार भयो । डण्डीबियोको अवस्था अहिले के छ ? नेपालको मौलिक खेलबारे न त खेलकुद परिषद्लाई चासो छ । न खेलकुद मन्त्रालय न त खेलकुद पत्रकारहरुलाई नै । कुनै समय टुडिँखेलमा अन्तर्रा्ष्ट्रिय स्तरका डण्डीबियो प्रतियोगिता हुन्थेँ । तर, यस्तो इतिहास खोज्ने चिन्ता कसैले लिएका छैनन् । छेटेन गुरुङको निर्देशनमा बनेको फिल्म डमरुको डण्डीबियोले यहीं खेलको खोजी गरेको छ । यस कार्यको जतिसुकै सराहाना गरेपनि कम हुन्छ । पुरानो खेललाई नेपाली सिनेमाको नयाँ कन्सेप्टका रुपमा विकास गरिएको छ । यसबाट डण्डीबियो खेल त लाभान्वित हुने नै भयो । नेपाली सिनेमा जगतकै उचाइ बढ्ने अवस्था पनि थियो । तर कमजोर स्क्रिप्टका कारण चलचित्र सामान्य मात्रै बन्यो । कथावस्तु जब सरकारले डन्डीबियोलाई राष्ट्रिय खेलबाट हटाउँछ । त्यसपछि यस खेललाई स्थापित गर्ने उद्देश्यले फिल्मको मुख्य पात्र डम्बर गाउँ फर्कन्छ । कुनै अन्तर्रा्ष्ट्रिय खेल बनाउने लक्ष्यका साथ अहोरात्र डण्डिबियोमा लागेको डम्बरको बाबु योगेन्द्रलाई आफ्नो लक्ष्यप्राप्तिमा असफल हुँदाको पीडा छ । लोकसेवाको तयारी गर्न छाडेर उ खेलको प्रवर्द्धनमा लागेको थियो । अन्त्यमा, कसैले सहयोग गरेनन् । निजामती कर्मचारी बन्ने रहर समाप्त भएपछि उ गाउँको हेडमास्टर बन्यो । योगेन्द्र चाहन्छ, अब छोरा निजामती सेवामा जाओस् र मन्त्रालयको सचिवसम्म बनोस् । योगेन्द्रकै चाहनाअनुसार डम्बरले राम्रो अंक ल्याएर मास्टर्स गरेको हुन्छ । तर डम्बरको लक्ष्य फेरिएपछि दुई बाबु–छोराबीच द्वन्द्व सुरु हुन्छ । अनि कथा अघि बढ्छ । डम्बर र मालाबीचको प्रेम, मुखियासँगको डम्बरको मित्रता तथा प्रेम र मित्रतामा देखिएको त्याग र समर्पणको भावनाले फिल्मको कथावस्तुलाई जिवन्त बनाउँदै लगेको छ । सकारात्मक पाटो विशुद्ध मौलिक कथावस्तुमा तयार भएको फिल्म हो । खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्कालगायत सबै कलाकार अभिनयमा अब्बल देखिएका छन् । त्यसका लागि निर्देशक छेटेन गुरुङसँगै कास्टिङ डाइरेक्टर नृपेश रुपाखेती बधाईका पात्र हुन् । मेनुका र बुद्धि तामाङको अभिनय विशेष छ । अनुप बराल र खगेन्द्र लामिछानेको अभिनयले निराश पार्ने कुरै भएन । क्यामेरा, साउन्डलगायतका प्राविधिक पाटो सन्तोषकजनक छ । एडिटिङ केही लुज देखिन्छ । मध्यान्तर हुनअघि र फिल्म समाप्ति पूर्व लम्ब्याइएका केही दृश्यहरु अनावश्यक लाग्छन् । नकारात्मक पाटो खगेन्द्र लामिछाने समीक्षकहरुको नजरमा संभावना बोकेका लेखक हुन् । उनी जति राम्रो कलाकार हुन् । त्योभन्दा राम्रो लेखक भनेर चिनिएका छन् । तर, यस फिल्ममा उल्टो छ । अभिनय राम्रो छ । तर, कथा लेखनमा आफूमाथिको अपेक्षालाई न्याय गर्न सकेका छैनन् । फिल्ममा प्रयोग भएका संवाद भने सरल र क्याची छन् । पहिलो हाफ निकै राम्रो छ । दोस्रो हाफपछि फिल्म खस्कन्छ । प्लटमा ठूलो कमजोरी छ । भिडियो भाइरल भएपछिको अवस्थामा फिल्मको कथा कता बढ्छ भनेर दर्शकले सहजै अनुमान लगाउन सक्छन् । यस्तो लाग्छ कि मध्यान्तरमै फिल्म उच्चविन्दुमा पुगिसकेको छ । त्यसपछि कथावस्तुमा द्वन्द्व छैन । प्राविधिक रुपमा यो त्रुटिपूर्ण देखिएको छ । योगेन्द्रसँग बदला लिन तम्सिएको चियापसले काशिरामले छोरीलाई उसैको टिमविरुद्ध उक्साएको दृश्यसम्म ठीक छ । तर, यसपछि जसरी नयाँ शिराबाट कथाको नयाँ सिक्वेन्स सुरु हुनुपर्ने थियो । मुख्य द्वन्द्वमा फिल्म प्रवेश गर्नुपर्ने थियो । त्यसैमा कथाकार चुकेका छन् । देखाउन नचाहेका दृश्य फिल्मले योगेन्द्रको डण्डिबियोप्रतिको प्रतिबद्धतालाई जुन उचाइमा उठाएको छ । त्यो अनुपातमा पुष्टि हुनेगरी उनी ब्याक हुनुको कारण खुलाइएको छैन । सरकारले सहयोग नगरेको वा दुनियाँले पागल भनेकै आधारमा एउटा प्रतिबद्ध व्यक्ति ब्याक हुनु स्वभाविक लाग्दैन । एकातर्फ, डण्डीबियो खेलेर आँखा फुट्छ र चोट लाग्नसक्छ भन्ने खतरा फिल्ममा औंल्याइएको छ । अर्कोतर्फ, गाउँमा सबैले टाउकोमा हेल्मेट नलगाई खेल्छन् । जब उनीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्छन् । त्यतिबेला भने सहभागिताहरुको टाउकोमा हेल्मेट देखिन्छ । डण्डिबियोको नियम बुझाइएको फिल्ममा, हेल्मेट नलगाइ खेल्दा आउने खतरा पुष्टि गर्नसक्ने दृश्यहरु पनि आवश्यक थिए ।  सुझाव फिल्ममा त्यस्तो टोलीले जित्छ, जसका सदस्य नै अन्तर्घातमा लागेका छन् । टिम भावनाले सबैभन्दा ठूलो अर्थ राख्ने खेल क्षेत्रमा यस्तो टोलीले उपाधि जितेको घटना सकारात्मक हुनै सक्दैन । आफ्नै टिमविरुद्ध लाग्ने खेलाडी त कारबाहीको भागिदार पो हुनुपर्ने हो । बरु, टिमका अन्य सदस्यले अन्तर्घातबारे थाहा पाएपछि आफ्नो गल्ती स्विकार्दै फेरि टिममा फर्किएर योगदान गरेको घटना देखाउन सकेको भए त्यसले सकारात्मक सन्देशसँगै फिल्मलाई पनि मनोरञ्जनात्मक बनाउने थियो । अन्तर्घातका कारण टोलीमा देखिएको विचलन र विभाजनलाई मुख्य द्वन्द्वका रुपमा प्रस्तुत गरेर टोलीमा पुरानै आत्मविश्वास फर्काउन गरिएको संघर्ष  देखाउनुको सट्टा कथाकारले खेलमात्रै देखाएर समय टार्न खोजेका छन् ।

41 पटक हेरिएकाे
Top