वडा सदस्यले २४ लाखमा ठेक्का लिएको विद्यालयको भवन बनेन

E Naya Khabar Reporter २०७५ वैशाख २७ गते बिहीवार | Big News, समाचार

 

उदयपुरः

वडा सदस्यले पाँच वर्ष अघि विद्यालयको चार कोठे भवन बनाउन ठेक्का लिए अझै सम्पन्न गरेका छैनन । उदयपुरको कटारी नगरपालिका १४ मा रहेको चन्द्रवती माध्यमिक विद्यालयको भवन ठेक्का लिएका वडा सदस्य लिलबहादुर थापा मगरले सम्पन्न गर्न नसेका हुन । ०७० सालमा जिल्ला शिक्षा कार्यलयबाट २४ लाख र साबिकको लेखानी गाउँ विकास समितिबाट ९५ हजार बजेटमा चार कोठे पक्की भवन बनाउन ठेक्का दिएका थिए । ‘वडा सदस्या हुनु,’ वडा कार्यालयका कर्मचारी बेदप्रसाद पोखरेलले भने, ‘भन्न पनि नमिल्ने, धेरै बजेट समेत लगिसक्नु भएको छ, अहिले बनेको भवन पनि जिर्ण बन्दै गएको छ, पाँच वर्षमा पनि सम्पन्न भएन ।’ पाँच वर्ष अघि निमार्ण सुरु गरिएको विद्यालयको भवन नबनेपछि स्थानीयले भ्रष्टचार गरेको आरोप समेत लगाएका छन । विद्यालयका प्रधानध्यापक अर्जुन मगरले विद्यालयको भवन समयमै सम्पन्न नहुँदा पठनपाठनमा समस्या आएको बताए । ‘म आएको दुई वर्ष भयो, म आउँभन्दा तीन वर्ष अगाडीबाट निर्मण कार्य सुरु गरेर पैसा लगिसकेको रहेछन,’ प्रअ मगरले भने, ‘म आएपछि छिटो सम्पन्न गर्न बारम्बार ताकेता गरिरहेको छु, तर, बनेको छैन, हामीलाई टेर्दैनन वडा सदस्य ज्युले ।’ ठेक्का लिने वडा सदस्य लिलबहादुर मगरले तत्कालिन प्रधानध्यपक धुर्व रेग्मीले समेत २५ हजार मागेर लगेकाले भवन निमार्ण सम्पन्न गर्न नसकेको बताए । ‘मैले २०७० सालमा ठेक्का लिँदा प्रअ धुर्व सर हुनुहुन्थ्यो,’ वडा सदस्य मगरले भने, ‘उहाँले २५ हजार लिएर गएपछि फिर्ता गर्नु भएको छैन, मैले भवन बनाउने पैसा जम्मा १८ हजार ७५ हजार मात्र पाएको छु ।’ वडा सदस्य मगर र तत्कालिन प्रध धुर्व रेग्मीको मिलेमत्तोमा भवन बन्न नसकेको मगरको भनाइ छ । ‘मैले समय भवन सम्पन्न गर्नुपर्छ भन्दा उहाँले पछि पैसा थप्नु पर्छ भन्नु भयो,’ पुन उनले भने, ‘होला भनेर मैले वेवास्ता गरे, अहिले धुर्व सर रिटार्यड हुनु भयो ।’ उक्त वडाका वडा अध्यक्ष तेजबहादुर आलेमगरले भवनकै विषयमा आफु विद्यालयका प्रअ र वडा सदस्य मगरलाई लिएर छलफलमा जुटेको बताए । ‘धेरै वर्ष हुँदा पनि भवन नबन्दा लाजै लाग्ने कुरो हो,’ वडा अध्यक्ष मगरले भने, ‘अव छिट्टै बनाउने गरी काम थाल्छौ ।’  ठेकेदार लिलबहादुर स्थानीय तह नर्वाचनबाट वडा सदस्य निर्वाचित भएपछि विरोध गर्नेहरु मौन बसेका थिए । जनप्रतिनिधि बनेपछि विद्यालयको भवन सम्पन्न गर्नुभन्दा पनि आफूलाई घाटा लागेको भन्दै गैरजिम्बेवारपूर्ण तरिकाले विद्यालयसँग थप पैसा माग्न थालेको विद्यालयका शिक्षकहरुको भनाइ छ । स्रोतका अनुसार तत्कालिन जिल्ला शिक्षा कार्यलयका प्राविधिक, प्रधानध्यापक र ठेकेरा लिलबहादुर मिलेमत्तो भवन बन्न नसकेको स्थानीयको आरोप छ । ‘हामीले किन विरोध गर्नु,’ एक स्थानीयले भने, ‘जिल्ला शिक्षा कार्यालयका प्राविधिकले समेत वेवास्ता गर्दै आए ।’

77 पटक हेरिएकाे
Top