विद्यार्थीलाई साईकल वितरण विद्यार्थीलाई साईकल वितरण

E Naya Khabar Reporter २०७४ फागुन ३ गते बिहीवार | Big News, मुख्य समाचार

 

 बेल्टार, फागुन ३

निम्न आयस्रोत भएका विद्यार्थीहरुलाई क्याम्पस जान सजिलो होस भनि चौदण्डीगढी नगरपालिका वडा नं. २ ले साईकल वितरण गरेको छ । वडा कार्यालयको बार्षिक कार्यक्रम अनुसार वडा भित्रका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो । वडा कार्यलयमा विहिबार एक समारोह विच चौदण्डी गढी नगरपालिकाका मेयर खगेन्द्र राई र वडा अध्यक्षले संयुक्त रुपमा विद्यार्थीहरुलाई साईकलको चावि विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए । वडा भित्रका ३४ जना छात्रा र १३ जना छात्रलाई साईकल वितरण गरिएको छ ।  साईकल वितरण कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष सन्तोष सुवेदीले वडा भित्रका टाढाटाढाबाट विद्यालय आउने बालबालिकाको हितलाई ध्यानमा राखेर साइकल वितरण गरिएको बताए । ‘सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न र विद्यालय टाढा भएकै कारण विचमै पढाई छाड्ने समस्या हटाउन साईकल वितरण गरिएको हो ।’ वडा अध्यक्ष सुवेदीले भने ‘साईकल संचालन गर्नाले स्कुल कलेज आवतजावत गर्न सजिलो हुनुका साथै वातवरण संरक्षणमा टेवा पुग्ने भएकाले वितरण गरिएको हो ।’ भित्ते, माडीबास, भोरापाटा, भुल्के, लगायत ग्रामिण क्षेत्रमा विद्यालय टाढा भएकै कारण विचैमा पढाइ छाड्ने दर धेरै भएकोले उनीहरुको पढाईमा सघाउ पुर्याउन साईकल वितरण गरिएको सुवेदीले जानकारी दिए ।  कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खगेन्द्र राईले विद्यार्थीलाई साईकल वितरण गर्ने कार्यक्रम यस बर्ष २ नम्बर वडा गरे पनि अर्काे बर्ष देखी सबै नगरक्षेत्रमा यो लागु गर्ने बताए ।

‘सुरुमा साईकल वितरण गर्ने कार्यक्रम राख्दा विरोध पनि भएको थियो तर अहिले आउदा यो कार्यक्रम ठिक रहेछ ।’ मेयर राईले भने ‘यो कार्यक्रम विद्यार्थीको भविष्य सँग जोडिएको कार्यक्रम हो यस कार्यक्रमलाई नगरपालिकाले आगामी दिनमा निरन्तरता दिने छ ।’ साईकल सहयोगले विद्यार्थीमा उत्साह थपिएको र यसले पठनपाठनमा पनि सहयोग पुर्याउने छात्रा सृजना कटुवालले बताईन । छात्रा कटुवालले भनिन् यस अघि क्याम्पस पढन दैनिक डेढ घण्टा हिड्नु पर्ने तर अब साईकल भएपछि १५ मिनेटमै कलेज पुग्न सकिने भएकाले वचेको समय पढाईमा खर्च गरि शैक्षिक गुणस्तर वढ्ने छ ।  साईकल वितरण कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका उपमेयर रीता चौधरी, शिक्षा शाखा प्रमुख श्रोत व्यक्ति राजकुमार ओझा, नेकपा एमालेका प्रतिनिधि राजेन्द्र कटुवाल, नेपाली काग्रेसका प्रदिप केसी, माओवादी केन्द्रका रमेश विकले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, पूर्व अध्यक्ष इश्वर तामाङ, कान्तिपुर टिभिका पर्शुराम थापा, नेपाल टेलिभिजनका तुलसी प्रसाद कोईराला र जनभाव दैनिक तथा थाहाखबरका पत्रकार विदुर कटुवालको उपस्थिति रहेको थियो ।

181 पटक हेरिएकाे
Top