यस्ताे छ, नेपालकाे ४१ अाैँ प्रधानमन्त्री केपी अाेलीकाे जीवनी ?

E Naya Khabar Reporter २०७४ फागुन ३ गते बिहीवार | Big News

 

काठमाडौं, फागुन ३ सदैव माओवादीप्रति तिखो वाँण प्रहार गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीकै सहयोगमा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका छन् । उनी नेपालको ४१ औं प्रधानमन्त्रीका रुपमा बनेका हुन् ।  रमाइलो त यो छ कि विगतमा उनी माओवादीप्रति जति आक्रामक थिए, उनीहरुकै सहयोगमा ओली दोस्रोपटक प्रधानमन्त्रीमात्र बन्दै छैनन् । ओलीकै नेतृत्व कालमा नेपालको दोस्रो ठूलो कम्युनिस्ट दल माओवादी केन्द्रसँग एकतासमेत हुँदैछ । २०२८ सालमा भएको झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा सक्रिय ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि पहिलो तथा मुलुकको ३८ औं प्रधानमन्त्री बन्न सफल भएका थिए ।  त्यसबेला उनी माओवादीसँगकै सहकार्यमा प्रधानमन्त्री भएका थिए । ४१ औं प्रधानमन्त्री प्रतिनिधिसभामा मुलुकको पहिलो दल रहेको नेकपा एमालेका अध्यक्ष ओलीले नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका थिए । मुलुकको ४१औँ प्रधानमन्त्रीमा निर्वाचन ओली योसहित आठौं वामपन्थी प्रधानमन्त्री समेत भएका छन् । २०५१ सालमा एमालेका तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री बनेर ओलीले राजकीय पदको यात्रा थालेका थिए । लामो समय जेलनेल भोगेका नेता ओली वाकटुतामा विशेष दख्खल राख्छन् । उनको भाषणकला सबैको चासोको विषय रहँदै आएको छ । विशेषतः हरेक कार्यक्रममा केही न केही नयाँ कुरा बोल्दै आएका नेता ओलीको यही कलालाई कतिपयले आलोचकले मन पराउने गरेका छैनन् । तर धेरैले उनलाई वाकपटुतामा विशेष योगदान राख्ने नेताका रुपमा बुझ्ने गर्दछन् । पारिवारिक जीवन र बाल्यकाल झापाबाट सक्रिय राजनीति शुरु गरेका नेता ओली इवा–२, तेह्रथुममा पिता मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको कोखबाट २००८ साल फागुन ११ सन् १९५२÷०२÷२३) मा जन्मिएका हुन् ।  तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट पढाइ सुरु गरेका ओलीको परिवार २०२२ सालमा बसाइसराइ गरी झापा गएको थियो । झापा सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने ओलीको परिवार निकै गरिब थियो । डेढवर्षकै उमेरमा उनले आमा गुमाउनुप¥यो । सानो छँदा कन्काईमा आएको बाढीले ओलीको घरजग्गा सबै बगाएपछि परिवार सुकुम्बासी भयो । सानैमा आमाको माया गुमाउनुपरेको र सुकुम्बासी तथा गरिब परिवारमा जन्मिएको कारण ओलीको बाल्यकाल निकै कष्टपूर्ण रुपमा बित्यो । हजुरबा र हजुरआमाले ओलीलाई हुर्काएका थिए । पढाईको सिलसिलामा झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग ओलीको भेट भएको थियो । चलाख र राम्रो विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाए । दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाव बढ्दै गएको थियो । विद्यार्थी छँदादेखि नै ओली मीठो र प्रष्ट ढंगले बोल्थे । अरुको खुलेर आलोचना गर्ने ओली एसएलसी सकेपछि गाउँकै प्राथमिक विद्यालयमा पढाउन शुरु गरे । तर राजनीतिमा सक्रिय हुन थालेपछि पढाउने कामलाई निरन्तरता भने दिन सकेनन् । झापा विद्रोहबाट उदाएका नेता ओलीले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका छन् । यही अडानका कारण उनको प्रशंसा समेत हुने गर्दछ । केहीले अति राष्ट्रवादका रुपमा समेत आलोचना गर्ने गरेका छन् । खासगरी राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा पछिल्लो समय ओली निडर तथा खरोरुपमा प्रस्तुत हुदै आएका छन् । एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओली पार्टीको आन्तरिक एकता सुदृढ बनाउँदै जनतामाझ पार्टीको बलियो पकड बनाउन सफल भएका छन् । एमाओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको समर्थनमा यसअघि मुलुकको ३८ औं प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ओलीले त्यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं परराष्ट्रमन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए । पार्टी र संसद्का जिम्मेवारी वि.सं. २०७१ असार १९–२५ मा सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका उनी २०७० माघ तत्कालीन संसदको संसदीय दलको नेता समेत भएका थिए । उनले तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरेका थिए । गएको मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा झापा ५ बाट निर्वाचित भएका ओली संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नं ७ बाट निर्वाचित भएका थिए । वि.सं. २०४८ र २०५१ को निर्वाचनमा झापा ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा उनी निर्वा्िचत भएका थिए । २०५१ मंसिर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्री थिए ।  विसं २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभामा निर्वा्चित भई पार्टीको संसदीय दलको उपनेता भएका ओली २०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका थिए । वि.सं. २०७० मंसिरमा भएको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वा्चित भएका उनी आफ्नो अडानमा स्पष्ट मानिन्छन् । झापा विद्रोहदेखि माओवादी सहकार्यसम्म २०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका हुन् । त्यही वर्षदेखि उनी भूमिगत भए । वि.सं. २०२७ को झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी्भित्र हतियारबद्ध सङ्घर्ष वा शान्तिपूर्ण सङ्घर्ष गर्ने भन्ने बहसमा उनले शान्तिपूर्ण आन्दोलनको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेका थिए ।  तर पार्टीको निर्णय मानी सशस्त्र सङ्घर्षमा समेत उनी होमिए । अन्ततः विसं २०४६ को वाम प्रजातान्त्रिक सहकार्यको शान्तिपूर्ण आन्दोलनबाटै प्रजातन्त्रको पुनःस्थापना भयो । त्यसपछि पार्टीले पनि शान्तिपूर्ण रुपान्तरणको बाटो लियो । ओलीले तत्कालीन महासचिव मदन भण्डारीबाट प्रस्तुत तथा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको सिद्धान्त र त्यसको कार्यक्रम निर्माणका महत्वपूर्ण भूमिका उनले निर्वाह गरेका थिए । वि.सं. २०२५ देखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई त्यसको नेतृत्व गरेका उनी २०२६ सालमा सङ्गठित सदस्यता पाए भने विसं २०२३ मा मार्क्सवादी अध्ययन दलमा सङ्गठित भए । वि.सं. २०२६ मै तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उपसचिवको जिम्मेवारी लिएका उनी २०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोसी प्रान्तीय कमिटीसँगको एकीकरण अभियानका अगुवा बनेका थिए ।  वि.सं. २०४४ पुस २ गतेदेखि धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा मालेको बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी बहन गरेका ओली २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारीमा पुगेका थिए । वि.सं. २०४७ जेठ १ गते तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष बनेका ओली २०४९ देखि २०७१ असारसम्म नेकपा एमाले स्थायी कमिटी सदस्य रहेर पार्टीको शीर्ष र लोकप्रिय नेताको स्थानमा रहेका थिए । १४ वर्षे जेल जीवन केपी ओलीले १४ वर्ष जेल जीवन बिताएका छन् । वि.सं. २०२८ वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग भएपछि २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा ओली अघि सरे ।  पञ्चायतविरोधी आन्दोलन र प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उनी विभिन्न पटक जेल परे । पहिलो पटक उनी २०२७ फागुन १६ गते झापाबाट गिरफ्तारीमा परेका थिए । र, त्यसबीचमा पटक पटक गरी १० पटकभन्दा बढी गिरफ्तारीमा परेका थिए । २०३० असोज २३ गतेदेखि उनको लामो जेल जीवन प्रारम्भ भएको थियो । रौतहट गौर जेल, गौर थाना हुँदै वीरगन्ज थाना र २०३० मंसिर ८ गते उनलाई भद्रगोल जेल काठमाडौँमा चलान गरियो ।  पछि केन्द्रीय कारागार, नख्खु जेलमा बस्दै गर्दा २०३६ जेठमा उनी जेलमुक्त भएका थिए । पछि फेरि २०३७ म गिरफ्तार भई २०४४ असार ११ मा भद्रगोल जेलबाट उनी रिहा भए । तत्कालीन राजा ज्ञानेन्द्रले चालेको २०६१ माघ १९ को कदमपछि उनले नजरबन्द पनि भोगेका थिए ।

120 पटक हेरिएकाे
Top