जनप्रतिनिधिलेनै रोके वैकल्पिक राजमार्ग निर्माणको काम

E Naya Khabar Reporter २०७४ फागुन १ गते मंगलवार | Big News, मुख्य समाचार

 

उदयपुर,  फागुन १

जनप्रतिनिधि नै वैकल्पिक लोकमार्ग निर्माणमा बाधक बनेका छन । राष्ट्रिय गौरवको योजना भनिएको धरानबाट चतरा, गाईघाट, कटारी हुँदै सिन्धुली–हेटौंडा जोड्ने सडक निर्माणमा उदयपुरका जनप्रतिनिधि बाधक बनेका हुन । सडक निर्माण क्षेत्रमा पर्ने उदयपुरको चौदण्डीगढी नगरपालिका ६ का वडा अध्यक्ष कमलध्वज राई बाधक बनेका हुन । सडक विस्तार गर्दा वडाध्यक्ष राईको घर भत्किने भएपछि बाधक भएको सडक आयोजनाको कार्यलय गाईघाटका इन्जिनियर रामबिहारी चौधरीले बताए । ‘वडाध्यक्ष राईको नेतृत्वमा केही घर परिवारले काम रोकेका छन ।’ इन्जिनियर चौधरीले भने, ‘घर जोगाउन सडक सर्भेको एलाइमेन्ट परिर्वतन गरेर ४०÷४५ मिटर पश्चिमबाट विस्तार गर्न माग गर्दै रोको छन ।’ विस्तार भइरहेको लोकमार्गको गाईघाट–बेल्टार सडक खण्ड चौदण्डीगढी नगरपालिका ६ को सातधारेमा ऐलानी जग्गामा राईको घर छ । सडक विस्तार गर्दा राईको घरसहित अन्य छिमेकीको घर भत्काउनुपर्ने छ । त्यही घर भत्काउन नदिने भन्दै वडा अध्यक्ष राईको नेतृत्वमा विरोध भएको छ । वडाध्यक्ष राईले सर्वसाधरणका घर नभत्काइकन सडक निर्माण गर्न आग्रह गरेको बताए । ‘पश्चिमतिरबाट सडक बनाउँदा राम्रो हुन्छ,’ वडा अध्यक्ष राईले भने, ‘उता वन कार्यालयले नदिने भएकाले काम रोकिएको हो, मैले रोकेको छैन ।’ सडक सिधा दुरीमा  निर्माण गरेर जानुपर्छ भन्दा आयोजना कार्यलयले नमानेको आरोप राईले लगाएका छन । सडक विस्तारका लागि ०७२ सालमा गरिएको सर्भेअनुसार काम गरिरहेको समयमा वडाध्यक्ष राईले काम रोकिदिएको आयोजना प्रमुख उमेशविन्द श्रेष्ठले बताए । ‘वडा अध्यक्षले काम रोकिदिएका छन,’ प्रमुख श्रेष्ठले भने, ‘यस बारे चौदण्डीगढी नगरपालिकालाई लिखित जानकारी पठाएका छौ, जवाफ आएको छैन, काम ठप्प भएको छ ।’ ०७२ सालमा सडकको सर्भे हुँदा अहिले राईको घरसहितको बस्ती वन क्षेत्र थियो । पछि सडक विस्तार हुने निश्चित भएपछि वडाध्यक्ष राईले ऐलानी जग्गा ओगटेर घर निर्माण गरेको स्थानीय रामकुमार राईले बताए । २५ प्रतिशत काम पनि सकिएको छैन गत वर्षको कात्तिकबाट निर्माणको काम सुरु भएको लोकमार्ग अहिलेसम्म २५ प्रतिशत पनि काम सकिएको छैन । चौदण्डीगढी नगरपालिकाको बसाहास्थित वीरेन्द्र चोकदेखि सिन्धुलीको भीमबाँधसम्म १ सय ३४ किलोमिटर छ । निर्माणको जिम्मा पाएको जेडआइईसी लामा एन्ड शर्मा जोइन्ट भेन्चर निर्माण कम्पनीले ३१ किलोमिटरमा कुनै पनि काम गर्न नसकेको निर्माण पक्षको भनाइ छ । सडकको वन क्षेत्रमा परेका रुख, विजुलीका पोल, घर टहरा हटाउ सरकारी पक्षले ढिलाई गर्दा निर्माणमा समस्या आएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले बताए । ‘अहिलेसम्म २५ प्रतिशत काम सकिनुपर्ने हो,’ कम्पनीका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले भने, ‘काम गर्दै जाँदा सडकमै घर पुगेपछि विवाद हुन्छ, रोकिन्छ, त्यस जनप्रतिनिधिहरु समेत आएर रोक्न आदेश दिन्छन,’ उनले भने, ‘वन क्षेत्रका रूख र विद्युत् पोल हटाउन सरकारी पक्षले ढिलाई गर्दा २५ प्रतिशत पनि काम भएको छैन ।’ पोखरेलले भने, ‘रूख काट्ने अनुमति लिने, घर–टहरा हटाउने, मुआब्जा विवाद मिलाउने लगायत काम सडक विभागले गरेकै छैन ।’ विभिन्न बाधा हुँदा पनि २० प्रतिशत सडक निर्माणको भौतिक प्रगति गरेको निर्माण कम्पनीका म्यानेजर पोखेरलको भनाइ छ । सडकको अधिकाँस क्षेत्र वन, वस्तिमा परेको छ । चौदण्डीगढी नगरपालिकाको वीरेन्द्र चोकदेखि भिमानसम्म पूर्वी खण्डको निर्माण कार्य जेडआइईसी लामा एन्ड शर्मा जोइन्ट भेन्चर निर्माण कम्पनीले लिएको सडक आयोजना कार्यलयको भनाइ छ । पूर्वी खण्डको १ सय ३४ किलोमिटर सडक गत वर्षको कात्तिकदेखि काम सुरु भएको हो  । पूर्वी खण्डको १ सय ३४ किलोमिटरमा पर्ने विभिन्न खोलामा निर्माण हुने पक्की पुलबाहेक ६ अर्ब रुपैयाँ लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने गरी सडक निर्माणको काम सुरु गरिएको हो  । यस खण्डमा पर्ने ४३ पुल निर्माणको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको सडक आयोजनाको कार्यलयले जनाएको छ । हरेक १० किलोमिटरमा क्लस्टर राखेर काम भइरहेको छ  । २०७६ सालसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी कार्ययोजना तयार छ । तर, समयमा सडकको वन क्षेत्रमा परेका रुख, विजुलीका पोल, घर टहरा हटाउ सरकारी पक्षले ढिलाई गर्दा निर्माणमा समस्या आएको छ ।३ सय १८ किलोमिटर सडक दुई खण्ड बनाई निर्माण चुरे क्षेत्रको उत्तरी भागमा निर्माणाधिन धरान–चतरा–बेल्टार–गाईघाट–कटारी र सिन्धुली हुँदै हेटौंडा जोड्ने वैकल्पिक लोकमार्ग अन्तर्गत जम्मा ३ सय १८ किलोमिटर पर्दछ । उक्त सडक क्षेत्रमा पर्ने रुख तथा विद्युतको पोल सार्ने र व्यवस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको पुर्वी खण्डका आयोजना कार्यालय प्रमुख प्रमुख उमेशबिन्दु श्रेष्ठको दावी छ । कार्यालयका अनुसार सडक निर्माणको काम करीब ११ प्रतिशत पूरा भएको छ । ‘वैकल्पिक लोकमार्गको कुल ३ सय १८ किलोमिटर छ,’ उनले भने, ‘सडक निर्माण तथा कालोपत्रे गर्न ६ अर्ब ५० करोड रुपैयाँमा ठेक्का सम्झौता भई काम शुरु भएको पनि छ ।’ सडकमा पर्ने पुल निर्माण गर्न ३ अर्ब ५० करोडमा कोपेक रसुवा चुण्डी जेभि जोइन्नभेन्चरले जिम्मा पाएको छ । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर चार जिल्ला भएर जाने सोे वैकल्पिक राजमार्ग दुई लेनको हुनेछ । सडकको चौडाइ ११ मिटर हुने सडक आयोजना कार्यालयले बताएको छ । ०७३ साल कात्तिकमा निर्माण सुरु भएको सडक ०७६ कात्तिक भित्र सक्ने गरी काम सुरु गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए  । सो सडक योजनालाई पूर्वी खण्डमा पर्ने उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्मको १ सय ३४ किमि जेडआइईसी लामा एन्ड शर्मा जोइन्ट भेन्चर निर्माण कम्पनीले ठेक्का पाएको छ भने भिमानदेखि हेटौंडासम्मको १ सय १५ किमि सडक कालिका कन्ट्रक्सनले पाएको छ ।सडकका १२ हजार रुख काट्नु पर्ने यो सडक सुनसरीमा १८.८ किमि, उदयपुरमा १ सय ८.५ किमि, सिन्धुलीमा १ सय ३५ किमि र मकवानपुर जिल्लामा ४९.३५ किमि भागमा पर्छ । हालसम्म यस योजनाको कुल लम्बाइमध्ये करिब २० किमि कालोपत्रे, करिब १ सय १० किमि ग्राभेल छ भने बाँकी सडक धुले सडक छ । योजनाका अनुसार सम्पूर्ण सडक दुई लेन विस्तार गरेर स्तरोन्नति गरिनेछ । हाल कालोपत्रे भइसकेको करिब २० किमि बीपी राजमार्ग र पूर्वी खण्डको ४८ किमि सडक विभागले कालोपत्रे तथा विस्तार गर्ने जिम्मा लिएको छ । सडकको पूर्वी खण्डमा ४३ र पश्चिमी खण्डमा ३३ वटा पुल निर्माण गरिनेछ । सडक विस्तार गर्दा पश्चिम खण्डमा ४ हजार ५ सय रूख र पूर्वी खण्डमा ८ हजार रूख काट्नुपर्नेमा ८५ प्रतिशत सम्पन्न भइसकेको उनले जनाए । सडक आयोजना कार्यालयका अनुसार वन रुखहरु हटाउने र निर्माण गर्ने काम एकसाथ चलिरहेको छ । घरटहरा, विजुलीको पोलको लगत संकलन र हटाउने कार्य सुरु भएको जनाइएको छ ।यसरी आएको थियो यो सडकको अवधारण तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्या राखिएको छ । मधेस आन्दोलनले पूर्वपश्चिम राजमार्ग ठप्प बनेर जनजीवन कष्टकर बन्यो । सरकारले त्यसपछि यो वैकल्पिक सडक निर्माण कार्य उच्च प्राथमिकतामा प¥यो । सरकार र सडक विभागको निर्देशनबमोजिम पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालयले धरानदेखि हेटौंडासम्मको ३ सय १८ किलोमिटर रुटलाई आगामी ३ वषभित्र कालोपत्रे गर्ने योजना छ । नयाँ संबिधान जारी भएसँगै सुरु भएको मधेस आन्दोलनले झन्डै ६ महिना राष्ट्रिय राजमार्ग ठप्प बनेपछि सरकार र सडक विभागले वैकल्पिक लोकमार्गको आवश्कयता महसुस गरी कोशी ब्यारेजको विकल्पमा चतरास्थित सप्तकोशी नदीमाथि नयाँ पुल सञ्चालनमा आएपछि यस सडकले निर्माण गति पाएको हो । विशेष मधेसमा रहेको पुर्व पश्चिम राजमार्गको विकल्पको रुपमा यो सडक निर्माण गरिएको हो ।

115 पटक हेरिएकाे
Top