उदयुर सिमेन्ट उद्योगको उत्पादन क्षमता विस्तार योजना

E Naya Khabar Reporter २०७४ फागुन १ गते मंगलवार | Big News, अर्थ

 

गाईघाट, फागुन १
सरकारी स्वामित्वमा रहेको मुलुककै सबैभन्दा ठुलो उद्योग उदयपुर सिमेन्टको क्षमता विस्तार गरिने भएको छ । घाटामा गएको उद्योगले पछिल्लो एक बर्ष यता सोचेभन्दा बढि उत्पादन र मुनाफा दिन थालेसँगै व्यवस्थापन पक्षले यसको क्षमता विस्तारको योजना अघि सारेको हो ।
राजनीतिक नियुक्ती, मजदुर आन्दोलन र चलखेलले सरकारी स्वामित्वमा रहेका अधिकांस उद्योगहरु धरासय बन्दै गईरहेको अबश्थामा पछिल्लो समयमा उदयपुर सिमेण्ट उद्योगले परिणामुखी उत्पादन दिँदै आएको स्थानीयको भनाई छ । राजनीतिक चलखेलकैकारण उद्योग धरासय बन्दै गएपछि उद्योगलाई निजीकरण गर्नेसमेत सरकारीतवरबाट प्रयासहरु भएका थिए ।
‘राजनीतिक शिफारिसमा उद्योगमा नियुक्ती भएर यसअघि आएका महाप्रवन्धक उद्योगलाई मुनाफाभन्दा पनि आफ्नो गोजी कसरी भर्ने र मन्त्री तथा पार्टीलाई कवोल गरेको रकम कसरी बुझाउने भन्ने समस्याबाट ग्रसित हुँदा उद्योग धरासय बन्ने गरेको थियो,’ उद्योग व्यवस्थापन समितिका पुर्व सदस्य सुवास राउतले भने, ‘पछिल्लो समय त्यो प्रथाको अन्त्य हुँदा उद्योग सुधारतर्फ अघि बढेको छ ।’
मुलुककै उत्कृष्ट उद्योगकोरुपमा उदयपुर सिमेन्टलाई स्थापति गर्न यस्तो योजना अघि सारिएको महाप्रवन्धक सुरेन्द्रकुमार पौड्ेलले बताए । दैनिक ८ सय ४० मेट्रिक टन सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता रहेको उद्योगले पछिल्लो समय दैनिक ७ सय १५ मेट्रिकटनसम्म उत्पादन गर्दै आएको छ ।
स्थापना बर्षकै अनुपातमा उद्योगले आप्mनो क्षमतालाई ९० प्रतिशत भन्दा माथि उपयोग गर्दै आएको पौडेलको दावि छ । उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ चुनढुङ्गा पर्याप्त र उच्च गुणस्तर भएकाले त्यसलाई सदुपयोग गर्न लागिएको महाप्रवन्धक पौडेलले बताए । उद्योगले त्रियुगा नगरपालिका १६ मा चुनढुङ्गा खानीको स्थापना गरी उत्खनन् गरी ल्याउने गरेको छ ।
महाप्रवन्धक पौडेलले दुई अर्व १२ करोड रुपियाँको लागतमा उत्पादन क्षमता विस्तार गरिने बताए । उनले भने, ‘यो योजनालाई कार्यान्वयन गर्न सरकारले आर्थिक अनुदान वा ऋण उपलब्ध गराएमा उद्योगमा मौजुदा रहेको प्राविधिक जनशक्ति र यहीँ प्लान्टलाई नै उपयोग गरेर चार महिनाको अवधिमा दैनिक ८ सय ४० मेट्रिकटनबाट बढाएर १ हजार ८ सय मेट्रिकटनमा पुर्याउन सकिन्छ ।’
२०४४ सालमा स्थापना भएको उद्योगले २०४९ साल मङ्सिर महिनाबाट उत्पादन गर्न शुरु गरेको हो । ७ करोड ३० लाख मेट्रिकटन चुनढुगांको खानी भण्डारण रहेको उद्योगले झण्डै तीस बर्षको हाराहारीमा ४० लाख मेट्रिकटन मात्र चुनढुङ्गा खपत गर्न सकेको नायव महाप्रबन्धक तथा प्लाण्ट महाशाखा प्रमुख नवलकिशोर साहले बताए ।
उनले भने, ‘अझै छ करोड ९० लाख मेट्रिकटनको चुनढुङ्गाको ठूलो पहाड सुरक्षित छ त्यसलाई सदुपयोग गर्न सरकारी तवरबाट सहयोग हुनु पर्दछ ।’ यो योजना सफल हुनसाथ मुलुकको ७० प्रतिशत सिमेन्टको मागलाई सहजै आपूर्ति गराउन सकिने उनको भनाई छ ।
जापान सरकारले नेपाल सरकारलाई उद्योग हस्तान्तरण गरेदेखिको हालसम्मको सवैभन्दा ठूलो परिमाणमा उत्पादन गर्न सकिएको विक्री विभागका प्रमुख रामबहादुर जिसीले बताए । पछिल्लो समय उद्योगले व्यवस्थापकिय सुधारसँगै कसरी मुनाफामा लैजान सकिन्छ भन्ने योजनालाई प्राथामिकतामा राखेर अघि बढेको महाप्रबन्धक पौडे्लको भनाईछ ।
सिमेन्ट उत्पादनमा बृद्विसँगै उद्योगबाट निस्कने धुँलो र धुवाँसमेत नियन्त्रण गरिएको उनको भनाई छ । दैनिक प्रतिघण्टा दुई टन भन्दा बढी उड्ने धुलो तथा धुवाँ नियन्त्रण गर्न करिव तीन करोड रुपियाँको लागतमा प्रदूषण नियन्त्रण गर्ने मेसिन इलेक्ट्रो स्टारिक पावर (इएसपी) जडान गरेको उद्योगका नायव महाप्रबन्धक महेश काफ्लेले बताए ।

173 पटक हेरिएकाे
Top