चुनावमा खुट्टा गुमाएकी युवती भन्छिन–मन्त्री नभई विश्राम लिन्नँ

E Naya Khabar Reporter २०७४ माघ २९ गते सोमवार | Big News, विचार ब्लग

 

उदयपुर, माघ २७

हिंसाले औपचारिक विश्राम लिएको दशक पूरा भइसक्यो । तर, समाजमा यसका बाछिटा अझै छन् । बम र बारुदको मुस्लोमा आफ्नो रोटी सेकाउन चाहने र निहीतार्थ पूरा गर्न चाहने सोच र चिन्तनले विश्राम पाएको छैन । बरु मौलाउँदै गइरहेको छ, प्रतिदिन । त्यसैको शिकार भइन, २५ वर्षीया युवती । लाउँलाउँ, खाउँखाउँको उमेर । किशोरवयमै पारिवारिक बोझ सघाउने जिम्मेवार छोरी । तीन भाइ बहिनीकी अभिभावक र समाज बदल्ने रंगिन सपना मथिङ्गलमा सजाएर राजनीतिमा होमिएकी नेतृ अस्पतालको शैय्यामा पुगिन, अनाहकमै ।  राजनीतिमा लाग्नुबाहेक उनको अर्को ‘अपराध’ थिएन । समाज बदल्ने अकिञ्चन चाहना थियो उनको । नेपाली कांग्रेसमा आवद्ध भएर राजनीतिका प्रणाली परिवर्तन गर्ने, सोच र चिन्तन बदल्ने उनको निष्कपट अठोटले अहिले ठूलै बज्रपातको सामना गर्नुपरेको छ ।यसरी सुरू हुन्छ, उनको कथा– हेमन्त ऋतु भए पनि चिसो बढिसकेको थिएन । मंसिर मास, खेतीकिसानी फाँटफगटामा व्यस्त हुने नै भए । राजनीति गर्नेहरूको दौडधूप पनि बाक्लै थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गर्मी बढिरहँदा उदयपुर–२ पनि त्यसबाट अछुतो थिएन । प्रतिनिधिसभाका उमेदवार नारायणबहादुर कार्कीले पनि सक्रियता बढाइरहेका थिए । कार्यकर्ताहरू घरघर पुगेर मत माग्ने कामलाई तीव्रता दिइराखेका थिए । मंसिर १३ गते पनि बिहानैदेखि यो क्रम चल्यो । त्यसदिन बिहानै उमेदवार कार्की, मीरा कटुवालसहित ८ जना बा १५ च ७८०६ नम्बरको बोलेरो गाडी चढेर कटारीबाट उदयपुरगढी–६ तर्फ प्रस्थान गरे, आमसभामा भाग लिन । निर्वाचन प्रचार–प्रसार सम्पर्क कार्यालयको सचिव थिइन् मीरा । ‘उदयपुरगढी तिम्रो गृहनगर, आमसभामा जाऔँ, आज कार्यालय अरूले नै हेर्छन,’ उमेदवार स्वयम्ले आग्रह गरेपछि उनले नकार्न सकिनन् । कच्ची, बलौटै बाटो । जंगल छिचोलेर दनुवारबेँसी पुग्दा त्यस्तै बिहानको दश बजेको हुँदो हो । बाटोमा खनेखोस्रेको हेर्ने कुरा पनि भएन । रफ्तारमै थियो गाडी ।
‘यो चन्द्रकुमारी श्रेष्ठको घर, उहाँचाहिँ निवाचित वडा सदस्य, हाम्रै पार्टीबाट,’ चुनावी कुराकानीसँगै ठाउँ पनि चिनाउँदै थिइन् मीरा । अचानक ड्याम्म… गरेर पड्कियो र कालोमैलो धुँवाको मुस्लो छुट्यो । पातपतिङ्गर, ढुंगामाटोसमेत उछिट्टिएको घुर्मैलो देखिन् । निमेषभरमै भएको थियो यो सब ।‘गाडीको इन्जिन पड्कियो कि क्या हो, कल्पना गर्दै थिइन् मीरा, ड्याम्मै भुइँमा बजारियो गाडी । चालक र उमेदवारको बीचमा थिइन, खुट्टा अतिशय ढंगले दुख्न थाल्यो । रगत बगेजस्तो चिसो अनुभव हुन थाल्यो तर निहुरिएर हेर्ने साहस थिएन । बेलाबखत होस गएजस्तो हुन्थ्यो, फेरि पूर्ववत् मुद्रामा फर्किएझैँ हुन्थ्यो ।‘पानी..बचाऊ..गुहार…, वातावरणमा कोलाहल छायो । बम पड्किएको तिर होसै गएन । ‘इन्जिन पड्कियो, अब गाडी नियन्त्रणमा आउँदैन !, त्राहीत्राही भए सबैजना । विस्फोटमा परेपछि पनि चालकले धैर्यता गुमाएनन् र करिब ४०  मिटर पर ढिस्कोमा पु¥याएर जोत्न भ्याए । त्यो ढिस्कोबाट तल खसेको भए सवार सबै जीवित भेट्टाउन मुस्किल हुन्थ्यो होला, सायद ! करिव दश फिट उचाइमाथि पुगेर भुइँमा बजारिएको केही समयपछि मात्रै निक्र्यौल भयो, उनीहरू विद्युतीय धरापमा परे । त्यसपछि पो मन कहालियो । विस्फोटको आवाज सुनेलगत्तै गाउभरिका मानिस भेला त भए तर घाइतेलाई गाडीबाट निकाल्ने र उद्धार गर्ने साहस कसैले गर्न सकेनन् । परै बसेर ‘रमिता’ हेर्न लागे । ‘हामीलाई पनि म बम हानेर मार्छन् कि, फेरि अर्को प्रेसरकुकर पड्कनै बाँकी छ कि ?’ छेउ आउनै डराउँथे गाउँले । उता घाइतेहरूको चित्कार बढ्दै थियो । सुरूमा त गाडीबाट निकाल्ने मानिससमेत भएनन् । त्यतिञ्जेल होसमै थिइन् मीरा । बमका छर्राले चाल्नोतुल्य बनेको थियो दायाँ गोडा । ह्वाल्ह्वाल्ती रगत बगिरहेको । बायाँ गोडा चलाउन सकिने अवस्था थिएन । खुकुरीले छप्काएजसरी एकनास पीडामात्रै हुन्थ्यो । जसोतसो हिम्मत जुटाइन् र उछिट्टिएको मासु, च्यातिएको छाला हातले सोहोरेर रगत छेक्ने प्रयास गरिन् । रगतको भेल नै बगेको थियो । खुट्टाको हड्डिमात्रै देखिएपछि होस गुमाउँछु झैँ लाग्यो उनलाई तर पनि होस गुमेन । ‘अतिशय पीडा हुँदा बरु बेहोस हुन पाए पनि हुन्थ्यो, दुख्दा त दुख्दैनथ्यो,’ कयौँ पटक भगवान पुकारिन् । अत्यधिक रक्तश्रावले हातगोडा झमझमाउन थालिसक्दा पनि होस भने गुमेन उनको ।
विस्फोटको प्रकृति र गाडीको अवस्था हेर्दा घाइतेलाई बाँच्छन् कसैले भन्दैनथे । ‘नानी ! खुट्टाको मासु उछिट्टिएको मात्रै हो, तिमीलाई केही हुँदैन,’ उद्धारकर्ता यसो भन्थे तर उनी भन्थिन, ‘म अपाङ्ग भइसकेँ । निरास र दुःखी छैन बरु एम्बुलेन्स चाँडो खोजेर घाइतेको उपचार गरौँ । मर्न त दिनुभएन नि !,’ उनको अदम्य साहसका अघिल्तिर हायलकायल हुन्थे उद्धारकर्ता । ‘दिमाग अपाङ्ग भयो भने खुट्टा भए पनि मानिस बाटो हिँड्न सक्दैन,’ अचानक उनको दिमागमा ‘क्लिक’ भयो । घरपरिवार, इष्टमित्र, नरनाता सबै सम्झन थालिन् । आफू कहाँ आएको, कोसँग रहेको, के भएको सबै मस्तिष्कको कुनाकन्दारासम्म पुगरे स्मृति उधिन्न थालिन् उनले । दिमाग तन्दुरूस्त पाएपछि केहीक्षण त फुरुङ्गसमेत भइन् उनी । ‘खुट्टा न गयो, जिन्दगी त सग्लै छ नि !,’ अतिशय पीडाकै बीच पनि आफूलाई सम्हाल्न पटकपटक प्रयत्न गरिन् । उद्धारपछि केही प्राथमिक उपचार भयो । पट्टी बाँधेर रगतको रोकथाम गर्नेसम्म काम भयो । अरू घाइतेको अवस्था कस्तो छ भनेर यसो यताउती हेर्थिन, मरेँ… ऐया.., एकोहोरो चिच्याहटमात्रै सुनिन्थ्यो । १० बजे विस्फोट भएको, दिउँसो १ बजेसम्म हेलिकप्टर आएन । ‘घाइतेहरूको अवस्था सामान्य छ’ भन्ने खबर प्रमुख जिल्ला अधिकारीकहाँ पुगेपछि पीडाले कहालिएकै अवस्थामा चिच्याउँजस्तै लाग्यो उनलाई । साढे तीन घन्टापछि हेलिकप्टरमार्फत बल्ल काठमाडौँ ल्याइर्पुयाइन् उनी ।‘काठमाडौँ आउँदा झन्डै सयपटक बेहोस हुन खोजेँ हुँला तर भइनँ । बेहोस नभएकाले सबै पीडा अनुभव गुमाउनु¥यो । काठमाडौँ आएपछि मात्रै बाँच्छु लाग्यो, पीडा सुनाइन् उनले । वास्तवमा त्यो पुनर्जीवन थियो उनको । दुई घन्टा अगावै उद्धार हुन सकेको भए खुट्टा गुमे पनि थोरै भाग काटे पुग्थ्यो । तर संक्रमण भएर माथिसम्म फैलिइसकेकाले घुँडामुनिको भाग काट्नुपर्यो ।चेतनाको वीजारोपण सशस्त्र सङ्घर्षको भुंग्रोमै हुर्किएकी हुन् उनी । हजुरबुबा मदन कटुवाल कांग्रेसमा सामान्य आस्था राख्थे । त्यसबापत उनले ठूलै मूल्य चुकाउनु प¥यो । ढुकुटीदेखि गोठको किलोसम्म सबै रित्ता भए । बाली भित्र्याएको थाहा पाउनु हुँदैनथ्यो, तत्कालिन विद्रोही घर घेर्न आइहाल्थे । कति मागेर, धेरैजसो लुटेरै लैजान्थे ।
मीराको किशोरी चेतले यतिमात्रै ठम्याउँथ्यो, ‘फलेकै वृक्षले त हो चोटको सामना गर्नुपर्ने ! आँप फलेकै बेलामा त मानिसले झटारो हान्छन् नि !’ उनले थाहा पाएसम्म हजुरबुबाले अन्याय अत्याचार गरेका थिएनन् । लुटेरै लैजानुपर्ने गरी अकूत कमाएका पनि थिइनन् । यत्ति हो, खेतीकिसानी गरेरै धुरी धुवाउन पुगेको थियो । ‘विद्रोहमा संलग्नहरूले त्यति पनि देखिसहेनन,’ मीराले लामो निःस्वास लिइन् ।एक न एक दिन राजनीतिमा सक्रिय भएर हिंसाको मनोविज्ञानको अन्त्य गर्छु, ।  मनमा दृढ अठोट जाग्यो र बालवयमै राजनीतिक चेतना झ्याँगियो उनको । कक्षाका पाठ्यपुस्तकसँगै अतिरिक्त विषय पनि पढ्न बुझ्न थालिन, राजनीति । ‘संकटकालकै अवस्था थियो । तथापि गाउँका दाइहरू लुकिछिपी संगठन बनाउन हिँड्थे, मलाई पनि कमिटीमा राखिदिनुभयो, पत्तै नपाई नेविसंघ र प्रजातन्त्रतिर आकर्षित भइसकेछु,’ उनी सम्झिन्छिन् । उनको राजनीतिक चेतना विस्तार भएकोचाहिँ उदयश्री बहुमुखी क्याम्पसमा पढ्न थालेपछि हो । उनी त्यहाँको इकाइ सभापतिसम्म भइन् र अहिले उदयपुर जिल्ला सदस्इ हुँदै अहिले नेपाल विद्यार्थी संघकी केन्द्रिय सदस्य हुन ।‘मलाई राजनीतिमा डोहोराएको अशोक श्रेष्ठ दाइले हो । वाककलादेखि संगठन विस्तारको कार्यशैली सिकाउने उहाँ नै हो,’ अग्रजप्रति कृतज्ञ देखिइन् उनी । ‘छोरीलाई सक्षम बनाउन राजनीतिमा लागेँ’ राजनीतिमा लागेर मन्त्री बनूँला भन्ने थिएन । धनी बन्ने सपना त छँदै छैन उनको । राजनीतिसँगै पेसा व्यवसाय गरेर घरगृहस्थी धान्ने नै उनको योजना थियो । राजनीतिमा लागेर त उनलाई छोरीको अवस्था बदल्नु थियो । उदयपुरगढी–१, जहाँ छोरो जन्मिँदा भोतभतेर लगाउँछन् । छोरी जन्मिए खेतबारी पहिरो गएझैँ ठान्छन् । छोरीले गर्भदेखि चिहानसम्मै भेदभावको सामना गर्नुपर्छ ।उनी देख्थिन, छोरालाई निजी विद्यालयमा भर्ना गर्छन् । छोरीलाई सरकारी विद्यालयमा भर्ना गर्छन् र प्रवेशिका परीक्षा दिने बेलासम्म पनि छोरीको पढाइ बुझ्न जाँदैनन् । अभिभावक, कतिपय आमा नै छोरालाई टिफिन पु¥याउन जान्छन् तर छोरीले बिहान, बेलुकाकै खानामा चित्त बुझाउनुपर्छ । छोरीले राजनीति गर्ने कुराको कल्पनासम्म पनि गर्न सकिँदैन । किशोरावस्था पार नहुँदै श्रीमान्को दैलो टेक्नुपर्ने अभिशप्त नियतिका सिकार छन् त्यहाँका छोरीचेली ।
‘छोरीलाई धेरै पढाउनु हुँदैन, पढेलेखेका छोरीलाई ठूलो कुलघरानमा बिहे गर्नुपर्छ, दाइजो कहाँबाट ल्याउनु बेलैमा पन्छाउनुपर्छ,’ सृष्टिको ओजपूर्ण स्थान ओगटेका छोरीहरू घरको बोझ बन्नुपर्दा उनको मन कुँडिन्थ्यो । समाजमा छोरीको विद्रूप अवस्थाले पिरोलेको हो उनलाई  । र, क्रमशः राजनीतितर्फ उद्वेलित बनाउँदै लग्यो । ‘खाने, बोल्ने, पढ्ने, लुगा लगाउने कुरामा साँधसीमा तोक्नेदेखि आफ्नो भविष्य आफैँ बनाउन छेक्नेसम्मको दुस्साहस बदल्न नै उनी राजनीतिमा होमिएकी हुुँ,’ सगर्व सुनाउँछिन् उनी । त्यसो त उनी समाजमा उदाहरणीय पनि बन्दै छिन् । घरबाट कटारी जम्मा १८ किलोमिटर टाढा छ । तर, कैयौँ चेलीले त्यो भौगोलिक दूरी पार गरेर सहरमा आएर पढ्न पाउँदैनन् । सके प्रवेशिका, नसके प्रवीणता प्रमाणपत्र तह छिचोलेपछि उनीहरू विवाहयोग्य ठहरिइहाल्छन् । यसको अपवादमात्रै होइन, अनुसरणयोग्यसमेत बनेकी छन् मीरा ।  अझ तीन भाइबहिनीको पढाइलेखाइ र घरको आम्दानीको श्रोतसम्म बनेपछि, ‘मीराले त सक्दिरहिछे, पढाउने हो भने त हाम्रा छोरीहरूले पनि त सक्छन् नि,’ यसो भन्न थालेका छन् उनका घरगाउँका आमाहरू ।प्रजातन्त्रका लागि खुट्टा गुमाएँ, मन्त्री बन्छु भर्खर स्नातक उत्तीर्ण युवती हुन् । तर, राजनीति, विचार, दृष्टिकोण र सिद्धान्तको कोणबाट परिपक्व छिन् उनी । शान्ति प्रक्रिया हुँदै संघीय गणतन्त्रमा प्रवेश गरिसक्दा पनि मुलुक हिंसाको श्याम–छायाँबाट मुक्त हुन सकेको छैन । वम विस्फोट गराउनेको पहिचान हुन सकेको छैन । घटनाको जिम्मेवारी पनि कसैले लिएको छैन । घटनाको दुईचार दिन सुरक्षा निकायले पनि चासो देखायो । चुनावसम्मपन्न भएपछि घटना ओझेल प¥यो । ‘कसले के उद्देश्यले विद्युतीय धराप थाप्यो होला ?,’ एकान्तमा घोत्लिन्छिन् मीरा । वम विस्फोटमा खुट्टा गुम्यो होइन, मुलुकको राजनीति अझै हतियारको ह्याङबाट मुक्त हुन सकेको छैन भन्छिन् उनी । त्यसैले उनलाई प्रजातन्त्रमा आस्था, विश्वास राख्नेहरूको भूमिका अझै बढ्दै गएको प्रतीत हुन्छ ।‘सशस्त्र सङ्घर्षलाई शान्तिपूर्ण बाटोमा हिँडाउने हामी नै हौँ । राजनीतिको मनोविज्ञान हतियारको धङधङीबाट उम्कन सकेको छैन । यसर्थ कांग्रेसको भूमिका अझै बलशाली बन्दै गएको देख्छु,’ उनको बुझाइ छ । आधा दशकयता उनी सक्रिय राजनीतिमा छिन् । हिजो सवलाङ्ग, सङ्घर्षको अग्रभागमा थिइन् तर आज विकलाङ्गमा परिणत भएकी छन् । शरीर अपाङ्ग भए पनि सपना सग्लै छ उनको । र त भन्छिन, ‘प्रजातन्त्र र शान्तिपूर्ण राजनीतिमा लागेर बक्सिसमा खुट्टा गुमाएँ । मन्त्री नभई विश्राम लिन्नँ ।’ उनी सोच्छिन खुट्टा गुम्दैमा धैर्यता, साहस र विवेक गुमाउने र राजनीतिबाट पाइला मोड्ने हो भने हतियारबन्द हिंसाकै मनोबल उच्च हुन्छ । प्रजातान्त्रिक चेतना क्रमशः निमोठिँदै जान्छन् । अति शरीरमा एक थोपा रगत रहेसम्म प्रजातन्त्रका लागि सङ्घर्ष गर्छु’ उनको अठोट छ । राजनीतिमा विश्वेश्वरप्रसाद कोइराला उनका आदर्श हुन् । उनकै एउटा भनाइ उद्धृत गरिन, “प्रजातन्त्र आएपछि पार्टीमा सुकिलामुकिला र चम्किला चिल्ला गाडी चढ्नेको विगविगी, जगजगी हुन्छ तर युवा पुस्ताले हिम्मत हार्नु हुँदैन ।’ उनले खुइया.. काढ्दै हामीतिर हेरिन् र भनिन, ‘देख्नुभो, बीपी बाबु कत्रो दूरदृष्टिको हुनुहुँदो रहेछ, अहिले ठ्याक्कै यस्तै छ कि छैन ? र त युवा पुस्ताले हार खानु हुँदैन । अन्ततः सुकिलामुकिला साइड लाग्छन् ।’‘पार्टीको शुभेच्छा राम्रै पाएँ’  वम विस्फोटमा परिन् । खुट्टा गुम्यो तर पार्टी कार्यकर्ता, समर्थकहरूले धैर्यता र साहस गुम्न दिएका छैनन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छिन् । अनुहारको तिलस्मी आभाले पनि छनक दिँदैन उनले शरीरको महत्त्वपूर्ण अङ्ग गुमाइन् । उनको अदम्य ऊर्जाले जो कसैलाई हिम्मत नहार्न र डटेर परिस्थितिको सामना गर्न प्रेरित गरिरहन्छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा शैय्यामै पुगेर सद्भाव व्यक्त गरे, ‘अपराधीहरू फेला प¥यौ । हिम्मत नहार, तिमीलाई केही हुँदैन । सरकार, पार्टीले हेर्छ ।’ त्यसका अलावा नेविसंघ नेतृत्वले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेर उनको साहसको उच्च सम्मान गरेको छ । अस्पतालमा सदाशयता देखाउन सयौँ नेविसंघका कार्यकर्ता पुगेका छन् । ‘आपतमा पार्टीबाट राम्रै ढाडस पाएँ,’ अनुग्रहित छिन् उनी । छेवैमा आमा थिइन, खीला कटुवाल । कुराकानीका क्रममा छोरीको साहस देखेर उनी कैयौंपटक भक्कानिइन् र आँसु खसेको छोरीले थाहा पाउलिन् भनेर मजेत्रोले मुख छोपिरहिन् । बुढेशकालमा आफ्नो सहारा बन्लिन् भन्ठानेको छोरीको स्याहारमा जुट्नुपर्दा उनको मन भक्कानिएको हुँदो हो । ‘पार्टीबाट के आशा राख्नुभएको छ ?,’ कुराकानीका क्रममा हामीले सोध्यौँ । उत्तर दिन उनलाई निकै गाह्रो भयो, गला अवरुद्ध भयो उनको । यत्ति भन्न सकिन, ‘हाम्री छोरी होइन, घरको अभिभावक थिई । खुट्टा गुमाएर अस्पतालमा छे । सरकारमा रहेको पार्टीले हाम्रो परिवार हेरोस् । गर्न त गरिराख्नुभएको छ उपचार, भोलिको दिनबारे पनि विचार पु¥याओस् ।’ हुर्किएकी छोरी । बिहावारी गर्नुपर्ला । खेतीकिसानी गरेर छाक टार्ने निमुखा परिवार । घरकी जेठी छोरी कमाएर खुवाउँथिन् । उही विकलंग भएपछि परिवारै अपाङ्ग हुने भइहाल्यो, आमाको पीडा बुझ्न कठीन थिएन । ‘रुँदारुँदै थाकेकी थिएँ, नेताहरू आउनुभएर हामी छौँ भन्नुभएको छ, पीडा कम भएको छ,’ हामी पुग्नेबित्तिकै भनिन् । खिला पढेलेखेकी छैनन् । नपढेर औँठाछाप हुनुपर्दा समाजमा ‘अज्ञानी’ बन्नुपरेको छ । त्यसैले उनले छोरीलाई ‘राजनीतिमा नलाग’ कहिल्यै भनिनन् । ‘नेता नबने पनि समाजका अघिल्तिर दुईचार कुरा राख्न सक्ने होली, हामीजस्तो रोएरै जीवन गुजार्नु नपर्ला, भाइबहिनी पढाउली,’ यही आशा थियो आमाको । पूरा भएको छ ।विकलांग शरीर, सवलाङ्ग सपना सवलाङ्गबाट एक्कासि विकलाङ्ग बनिन, समायोजित हुन समय पक्कै लाग्छ । चिकित्सकहरूले ढाडस दिएका छन, ‘खुट्टाको घाउ निको हुँदै गएपछि कृत्रिम खुट्टा लगाउन सकिन्छ । दुईचार महिना अप्ठ्यारो हो ।’ अस्पतालको शैय्यामा रहुञ्जेल वचनहरू पनि मल्हम बन्छन् तर सडकमा निस्किएको दिन सजिलो हुँदैन । कैयौँ अप्ठ्यारा र चुनौतीका पहाड पन्छाउनुपर्छ । सवलाङ्गलाई त गरेर खान गाह्रो छ, अपाङ्गतालाई कति कठीन छ, चिताउनसमेत सकिँदैन । यौवन उकालो चढ्दै गएर प्रौढमा पुगेका दिन आइपर्ने अप्ठ्यारो कल्पना गरेर उनी आफूलाई कहिल्यै दुःखी बनाउँदिनन् । दृढ मनोबल छ उनको । ‘नेविसंघको माध्यमबाट म आफैँले धेरै खुट्टा गुमाएका अपांगता भएकाहरूको जिन्दगी सहज बनाएको छु । कतिलाई पैसा उठाएर कृत्रिम खुट्टा किन्दिएको छु । दिमाग विकलाङ्ग नबनुञ्जेल शरीरको अपाङ्ताले उद्देश्यमा पुग्न कहिल्यै बाधा दिने छैन,’ यति भनेर कुराकानी बिट मारिन् उनले । साभार ब्रहखरी अनलाईबाट अक्षर काकाको लेख

200 पटक हेरिएकाे
Top