पैसाकाे सपनाले दिएकाे खनीदेवीको दुःख कहिले जाला ?

E Naya Khabar Reporter २०७४ माघ २९ गते सोमवार | Big News, मुख्य समाचार

 

सप्तरी, माघ २७

बेल्हीचपेना गाउँपालिका– ५ मलेपुरकी दुखनीदेवी मण्डलले तीन वर्षअघि छोरालाई रोजगारीका लागि विदेशमा पठाउँदा अनेक सपना सँगालेकी थिइन । पैसा कमाउला भन्ने आशले तीन कट्ठा जग्गा स्थानीय साहुकोमा धितो राखेर एक लाख ५० हजार ऋण लिई उनले छोरालाई मलेसिया पठाईन ।  छोरो रोजगारीका लागि मलेसिया उडेपछि कमाउला र आफूलाई पनि बुढेसकालमा आर्थिकरुपमा केही सहज होला भन्ने उनको सपना धेरै दिन टिकेन । मलेसियाको केर ग्लोबल फट्युनमा रोजगारीका लागि पुगेको छोरा मनोजकुमार मण्डल २२ दिनपछि बिरामी भएर नेपाल फर्किए । मलेसियामा नौलो परिवेश, समाज र वातावरणमा काम गर्दा उनको  छोरामा कडा मानसिक समस्या देखाप¥यो । सोही कारण कम्पनीले छोरालाई नेपाल फिर्ता पठाइदियो । तीन वर्षअघि त्यहाँबाट शुरु भएको दुखनीदेवीको दुःखका दिन अझै सकिएका छैनन् ।  छोरो पठाउँदा तीन कट्ठा जग्गा धितोमा राखेर स्थानीय खुरहुरीयाका विरजा यादवसँग लिएको रु एक लाख ५५ हजार ऋणले उलाई अझै सताइरहेको छ । सो ऋणको ब्याज बढेर अहिले रु चार लाख पाँच हजार पुगेको छ । सोही चक्रिय ब्याजले उलाई थला पारेको छ । उनले भनिन्, ‘आम्दानीको स्रोत केही छैन, कमाउने छोरा नै बिरामी भयो, कसरी ऋण तिर्ने ? श्रीमान् र आफूलाई बुढेसकाल लागेकाले खासै काम गर्न नसके पनि कहिलेकाहीँ मजदुरी र खेती किसानी गरेर केही रकम जम्मा गर्ने गरेको उनले बताईन । छोरोे फर्किएर आएको धेरै समयपछि एजेण्टले मलेसिया जाँदा लागेको पैसा फिर्ता ग¥यो । एजेण्टले रकम दिएपछि शुरुमा रु दुई लाख साहुलाई तिरिन । गत वैशाखमा र कात्तिकमा रु ५०÷५० हजार तिरिन । अब तिर्न बाँकी एक लाख पाँच हजार छ । धितो राखेको जग्गा अझै फिर्ता भएको छैन । एक लाख ५५ हजार ऋण लिए पनि साहुले रु तीन लाख ऋण लिएको कागज गराएको पीडित दुखनीदेवीको भनाइ छ । मण्डलको तीन वर्षको नातिनी छिन । मानसिक समस्याका कारण छोराले बुहारीलाई दुःख दिने गरेपछि उनले धेरैजसो माइतमै बस्ने गरेको दुखनदेवी बताईन । ‘नातिनीलाई पढाउने व्यवस्था गर्नसके हुन्थ्यो,’ उनले भनिन्, ‘छोरो त निको हुने कहिले हो कहिले, कम्तीमा नातिनीलाई राम्ररी पढाउन पाए हुन्थ्यो ।’ दुखनी देवी त प्रतिनिधि पात्र मात्रै हुन । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांशले गाउँकै साहु, महाजन र पण्डितसँग चर्को ब्याजमा ऋण लिएर जाने गरेका छन् । रकम दिनेले कागज गर्दा ब्याज नलेखी पहिले नै लिएको रकमभन्दा दोब्बरको कागज गर्ने गरेका छन् । एक लाख ऋण लिए ब्याज पहिला नै जोडेर दुई लाखको कागज गर्ने परम्परा यहाँका लागि सामान्य भइसकेको छ । स्थानीय प्रहरी प्रशासन यसबारे जानकार रहेपनि यस्ता विकृति हटाउन खासै पहल गरेको देखिँदैन । वित्तीय साक्षरताको अभाव, बैंकबाट ऋण लिन झण्झट मान्ने र बैंक तथा वित्तीय संस्थाले पनि सहजै ऋण नदिने भएकाले यस्तो प्रवृत्ति बढेको हो । यसलाई हटाउन वित्तीय साक्षरता कार्यक्रमका साथै चर्को ब्याजमा नक्कली कागज गर्ने प्रवृत्तिविरुद्ध स्थानीय प्रहरी प्रशासनले कदम चाल्न आवश्यक रहेको सरोकार भएकाहरु बताउँछन् ।

86 पटक हेरिएकाे
Top