बेवारिसे बन्दै सरकारी स्वास्थ्य संस्था

E Naya Khabar Reporter २०७४ माघ २४ गते बुधवार | Big News, जीवनशैली

 

उदयपुर, माघ २४

नियमन गर्ने निकाय जिल्ला जनस्वाथ्य कार्यालय उत्तरदायित्व विहीन बन्दै गएपछि सरकारी स्वास्थ्य संस्था पछिल्लो समय लथालिङ्ग बन्दै गएका छन । उत्तरदायित्व बहन गर्नुपर्ने स्थानीय तहले प्रभावकारी अनुगमन, मूल्यांकन र कारबाही गर्न नसक्दा स्वास्थ्य संस्था अव्यवस्थित बनेका छन । जनस्वास्थ्य कार्यालयको अधिकार र कर्मचारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । तर संस्थाहरू व्यवस्थित नहुँदा सर्वसाधारणले सहज सुविधा पाउन सकेका छैनन । एक स्थानीय तहमा दुई कर्मचारीले त्यहाँ भएका सम्पूर्ण स्वास्थ्य संस्थाको अनुगमन गर्नेदेखि औषधि खरिद तथा वितरणसमेत गर्दै आएका छन । संस्थाहरूमा पर्याप्त औषधि उपलब्ध छैन । नियमन गर्ने निकायलाई अधिकार भए पनि अन्योल हुँदा समस्या बढ्दै गएको छ । स्वास्थ्य संस्थालाई सञ्चालन गर्ने, अनुगमन तथा नियमन गर्ने स्थानीय तहलाई अधिकार दिइएको छ । स्थानीय तहले स्वास्थ्य सञ्चालन गर्ने नीति बनाउन सकेको छैन । जनस्वास्थ्यबाट अधिकार खोसिएको र स्थानीय तहले अधिकार ग्रहण गर्न नसक्दा सकारी स्वास्थ्य संस्था संक्रमणकालीन अवस्थामा गुज्रिरहेको जानकार बताउँछन । स्थानीय तह सञ्चालनको आफनै नीतिनियम बन्न नसकिरहेका बेला कसरी स्वास्थ्य संस्थालाई नियमन गर्ने भन्ने अहिले अन्योल भएको जनप्रतिनिधिको भनाइ छ । रौतामाई गाउँपालिकका अध्यक्ष गजेन्द्र खड्काले भने, ‘तर दरबन्दीअनुसारका कर्मचारी र वर्षभरि पुग्ने औषधिका लागि बजेट छैन ।’ अहिलेसम्म औषधिका लागि दिइएको ३ लाख ५० हजार रुपैयाँले एउटा स्वास्थ्य चौकीलाई समेत राम्रोसँग औषधि पु¥याउन नसकेको उनले बताए । रौतामाईको ६ र ८ वडामा त स्वास्थ्य चौकी नहुँदा समस्या भएको अध्यक्ष खड्काले बताए । ‘स्वास्थ्य चौकी माग गर्दासमेत सरकारले व्यवस्था गर्न सकेको छैन,’ उनले भने, ‘त्यसैले स्थानीय तहको पहिलो समस्या भने कै स्वास्थ्य संस्था सञ्चालनमा कठिनाइ हो ।’ ‘सरकारी स्वास्थ्य संस्था अभिभावकविहीनको अवस्थामा छन,’ जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी दुनियालाल यादवले भने, ‘जनस्वास्थ्यको उत्तरदायित्व स्थानीय तहलाई दिइएको छ, स्थानीयले आफ्नो उत्तरदायित्व बहन गर्न सकेको छैन ।’ त्यसैले पनि लथालिङ्गको अवस्थामा पुगेको उनले बताए ।स्थानीय तहले उत्तरदायित्व बहन गर्न नसक्दा ८ स्थानीय तह बेलाका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका, रौतमाई, सुनकोसी, ताप्ली र उदयपुरगढी गाउँपालिकका सबै स्वास्थ्य संस्थामा संक्रमणकालीन अवस्थामा सञ्चालन भइरहेको सर्वसाधारणले गुनासो गरेका छन ।

177 पटक हेरिएकाे
Top