उदयपुरलाई साक्षर जिल्ला घोषणा गरिने 

E Naya Khabar Reporter २०७४ माघ १७ गते बुधवार | Big News, शिक्षा

 

गाईघाट, माघ १७

उदयपुरलाई साक्षर जिल्ला घोषणा गरिने भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले तोकेको १२ वटा मापदण्ड उदयपुरले पुरा गरिसकेकाले घोषणाको तयारी गरिएको हो ।  बुधबार जिल्ला शिक्षा कार्यालयको संयोजनामा अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरले जिल्लास्थित सरोकारवाला निकायहरुको उपस्थितिमा आयोजना गरेको साक्षर जिल्ला घोषणा लक्षित अन्तरक्रियामा यस्तो प्रस्ताव अघि सारिएको हो । यधपि साक्षर जिल्ला कहिले घोषणा गर्ने भन्ने मिति भने तय भईनसकेको अनौपचारिक शिक्षा केन्द्रका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले जानकारी दिए ।  साक्षर जिल्ला घोषणाका लागि १५ देखि ६० बर्ष उमेर समुहका ९५ प्रतिशतले आफु र आफ्नो परिवारको नाम लेख्न, हस्ताक्षर गर्न, सामान्य हिसावकिताव राख्न, मोवाईल र क्यालकुलेटरबाट अंक र अक्षर चिनेर प्रयोग गर्न, १ देखि १ सयसम्म गणना गर्न, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथिमिति बनाउन जस्ता कार्य गर्न सक्नु पर्दछ ।  केन्द्रले तोकेको मापदण्डभन्दा १ दशमलव ३२ प्रतिशत बढि साक्षर भईसकेको शिक्षा कार्यालयको तथ्यांकमा छ । अभियानकाक्रममा जिल्लामा ९६ दशमलव ३२ प्रतिशत सर्वसाधरण साक्षर भईसकेका छन् ।  जिल्लामा १५ देखि ६० बर्ष उमेर समुह १ लाख ७४ हजार १ सय ८ जना रहेकामध्ये हालसम्म १ लाख ६७ हजार ७ सय ६ जना साक्षर भईसकेका छन् भने बाँकी ६ हजार ४ सय २ जनालाई आगामी १ बर्षभित्रमा साक्षर बनाई सक्ने लक्ष्य लिइएको जिल्ला शिक्षा अधिकारी हरिहर धितालले जानकारी दिए ।  यो तथ्यांक शिक्षा कार्यालयले आफु मातहतमा रहेका निकायबाट घरधुरी सर्वेक्षण गरी तयार पारेको धितालले वताए । कार्यक्रममा अध्यक्ष समन्वय समितिका प्रमुख परियारले मानव सूचाकंमा उदयपुर जिल्लालाई अव्वल बनाउन यो अभियानले सहयोग मिल्ने बताए ।  उनले समृद्ध नेपाल निर्माणका लागि सरकारले साक्षरता बनाउन गरेको लगानीलाई सार्थक बनाउनु पर्ने धारणा व्यक्त गरे । साक्षरता शिक्षा २००४ सालबाट प्रारम्भ भएको हो । यससँगै २०१३ बाट योजनाबद्धरुपमा प्रोढसाक्षरता कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक वालकृष्ण गैरेको भनाई छ ।  कोही पनि नेपाली जनता शिक्षाबाट वञ्चित नहुन भन्ने हेतुले सरकारले २०५६ सालमा अनौपचारिक शिक्षा केन्द्रको स्थापना गरी अभियान सञ्चालन गर्दै आएको छ । यससँगै सरकारले सन २०१५ सम्ममा नेपाललाई साक्षर घोषणा गरिसक्ने लक्ष्य लिई आ.व. ०६९÷०७० बाट सघनरुपमा साक्षर नेपाल अभियान सञ्चालन गर्दै आएको थियो ।

186 पटक हेरिएकाे
Top