उदयपुर पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

E Naya Khabar Reporter २०७४ माघ १६ गते मंगलवार | Big News, जीवनशैली

 

गाईघाट, माघ १६

‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मुलनाराकासाथ मंगलबार उदयपुरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।  नेपाल सरकार स्वास्थ्य मन्त्रालय र संघीय तथा स्थानीय बिकास मन्त्रालयको निर्देशिकाले तोकेको मापदण्ड पुरा गरेसँगै जिल्लालाई प्रदेशनं १ का प्रमुख प्रध्यापक डा. गोबिन्द तुम्बाहाङले घोषणा गरेकाहुन् ।  सो अवसरमा तुम्बाहाङले सबै जातजाती, भाषाभाषीको बसोबास रहेको उदयपुरलाई यो घोषणासभाले विकास निर्माणमा थप टेवा पुग्ने बताए । उनले सन २०१७ सम्ममा नेपाललाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने सरकारी लक्ष्यलाई टेवा पुर्याएकोमा जिल्लाबासीलाई धन्यवाद व्यक्त गरे ।  त्रियुगा माध्यमिक बिद्यालयको परिषरमा भएको कार्यक्रममा विभिन्न जातजातीका झाँकीसमेत प्रर्दशन गरिएको थियो । जिल्ला घोषणा हुनु पुर्व जिल्लाका ८ वटै स्थानीय तहमा घोषणासभा गरिसकिएको छ । पूर्ण खोप निर्देशिका अनुसार घरधुरी संर्भेक्षण गर्दा जिल्लामा १२ देखि २३ महिनाका ७ हजार ८ सय ८९ बालबालिका भेटिएको र सबैलाई पूर्ण खोप लगाईसकिएकाले जिल्लालाई घोषणा गरिएको हो ।  पूर्ण खोप कार्यक्रमले विरामी दर, मृत्यु दर र अपाङ्गता दर घटाउन महत्वपूर्ण भुमिका हुन्छ । कार्यक्रममा बोल्ने प्रदेश सांसद विमल कार्की, हिमाल कार्की, अम्बिका थापाले खोपको चर्चा गर्दै राज्यले दिएको सुविधा उपभोग गरि स्वस्थ नागरिक बन्न आग्रह गरे । उनीहरुले राज्यको लगानीको सहि सदुपयोग गर्न आग्रह गरे । क्षयरोग, पोलियो, हेपाटाइटिस बि, लहरेखोकी, भ्यागुते, धनुष्टंकार, निमोनिया, रुवेला, दादुरा, जापानिज इन्सेफलाईटिस र हमोफिर्स इन्फुल्न्जर बि गरी ११ प्रकारका खोपहरुका लागि राज्यले प्रति बालबालिका ५ हजार रुपिँया खर्च गर्ने जिल्ला खोप समन्वय समिति उदयपुरका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले जानकारी दिए । कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख वलदेव चौधरी, बेलकाका प्रमुख दुर्गाकुमार थापा, ताप्लि गाउँपालिकाका प्रमुख उद्धवबहादुर थापा, जनस्वास्थ्य प्रमुख सागर प्रसाई लगायतले बोलेका थिए ।

81 पटक हेरिएकाे
Top