माझकिरातलाई मुन्धुम पदमार्ग घोषणा

E Naya Khabar Reporter २०७४ माघ १४ गते आइतवार | Big News

 

काठमाडौँ
संघीय प्रदेश १ को माझकिरात क्षेत्रलाई पर्यटन प्रवर्द्धनका निम्ति ‘मुन्धुम पदमार्ग’ घोषणा गरिएको छ ।
नेपाल पर्यटन बोर्डको सहयोगमा मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले स्थलगत अध्ययन, अनुसन्धान गरी घोषणा गरेको हो। ‘हामीले पूर्वी नेपालको खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न नयाँ पदमार्ग ‘मुन्धुम पदमार्ग’को घोषणा गर्दछौं,’ आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष रमेश राईले भने, ‘मुलुक नयाँ संरचनामा बदलिएसँगै स्थानीय निकाय, जनप्रनिधिहरु, विज्ञ टोलीसहित यो काम गरेका हौँ ं।’

उक्त पदमार्ग भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको चखेवा भन्ज्याङबाट सुरु भई धोत्रे भन्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटे, रावाधाप, साल्पा भन्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्ने छ। समुद्री सतहदेखि करिब ४ हजार १ सय ५३ मिटर उचाईमा रहेको पदमार्ग जान र फर्किनका निम्ति नौदिने पदयात्रा हुनेछ। त्यस भेगबाट उत्तरतर्फ सर्वोच्च शिखर सगरमाथालगायत हिम चुचुराहरुको अवलोकन, प्राकृतिक, सांस्कृतिक, पर्यावरणीय अवलोकन गर्न सकिने जनाइएको छ। यही मार्गबाट संखुवासभा र सोलुखुम्बुतर्फ अघि बढ्न सकिने छ ।

किराती राई जातिभित्रका विविध भाषीहरुको समुदाय रहेको र उनीहरुले सदीयौंदेखि व्यतिग गर्दैआएको जीवनशैली तथा किरातधर्मशास्त्र मुन्धुम (मुन्धुम)को अवलोकन गर्न सकिने भएकाले ‘मुन्धुम पदमार्ग’ नामाकरण गरिएको जनाइएको छ ।

पर्यटन बोर्डका प्रबन्ध निर्देशक रोहिणी खनालले पर्यटनविद्, भूगोविद्, पर्यटन व्यावसायी, पर्यटन संचारकर्मीलगायतको टोलीले गरेको काम विश्वसनीय रहेको बताए ।

भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्जे शेर्पाले जिल्लाको विकासमा पर्यटन प्रवद्र्धन महत्वपूर्ण रहेको बताए ।

178 पटक हेरिएकाे
Top