सहिद परिवारलाई दिएको आश्वासन पुरा गर्दैै वर्षमान

E Naya Khabar Reporter २०७४ माघ ६ गते शनिवार | Big News, र्इखबर

 

 

रोल्पा/ प्रतिनिधिसभा सदस्य एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले जेल्बाङका सहिद परिवार मंगले बुढाको घर शिलान्यास गरेका छन् । मंगलबार पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरासँगै जेल्बाङ पुगेका वर्षमानले बुढाको घर दुई महिनामै निर्माण गर्ने बताए ।

केही समयअघि जेल्बाङ पुगेका वर्षमान र पूर्वसभामुख ओनसरी घर्तीले सहिद पिता बुढासहित अन्य सहिद परिवारको घर बनाउने आश्वासन दिएका थिए । आश्वासन दिएको एक महिना नबित्दै घरको शिलान्यास उनी स्वयंले गरेका छन् ।

घर, न्यानो लुगा र स्वास्थ्योपचार
मंगले बुढाको घर बनाउन करिब पाँच लाख लाग्ने अनुमान गरिएको छ । सो रकम सांसद सुरक्षित आवास कार्यक्रममार्फत उपलब्ध गराएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए । ‘अनन्तकै पहलमा मंगलेको घर बन्न थालेको हो’ अध्यक्ष पुनले भने, ‘वर्षमानको विजयपछि जेल्बाङवासीले धेरै राहत पाउने विश्वास गरेका छन् ।’ मंगले बुढाको घुँडामा समस्या भएका कारण हिँडडुल गर्न सक्दैनन् । उनको उपचारका लागि अनन्तले दुई लाख उपलब्ध गराउने घोषणा गरेका छन् । ‘मंगलेलाई मैले काठमाडौं आउन भनेको छु,’ अनन्तले भने, ‘उहाँ काठमाडौं आउनुभयो भने सबै उपचार हुने गरी प्रबन्धसहित दुई लाख उपलब्ध गराउँछु ।’

कृष्णबहादुर महरालाई प्रमुख अतिथि बनाउँदै वर्षमान दम्पतीले जेल्बाङका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत गरे । सो कार्यक्रममा मंगले बुढालगायत अति विपन्न परिवारलाई न्यानो लुगासमेत वितरण गरेको गाउँपालिका अध्यक्ष आशबहादुरले बताए । जेल्बाङ नेपालकै धेरै सहिद भएको गाउँका रूपमा चिनिन्छ । यहाँबाट माओवादी द्वन्द्वमा ७३ जनाले ज्यान गुमाएका थिए ।

26 पटक हेरिएकाे
Top