पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय बढि बालवालिका एक साथ विरामी

E Naya Khabar Reporter २०७४ माघ ३ गते बुधवार | Big News, जीवनशैली

 

सोलु, माघ ३
महाकुलुङ गाउँपालिका वडा नं २ बुङमा रहेको पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय बढि बालवालिका एक साथ विरामी भएपछि क्रास फैलिएको छ । शनिबार देखि एक दुई जनामा रुघाखोकीको लक्षण देखिएको भएपनि आइतबार सम्म २ सय बढि बालवालिका प्रभावित भएपछि अभिभावकमा क्रास फैलिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र सोताङबाट खटिएको स्वास्थ्य कर्मीको टोलीले स्वयनफ्लू हुन सक्ने आशांका गरेको छ । डाक्टर सन्डु शेर्पाले सोमबार र मंगलबार गरी २ सय बढि विरामीको परिक्षण गरिएको जानकारी दिनुभयो । उहाँले बालवालिकामा देखिएको लक्षणका आधारमा उपचार गरीरहेको बताउनुभयो । उच्च ज्वरो आउने, छाती पोल्ने, वाकवाकी आउने, खुटा झमझमाउने, टाउको दुख्ने, झाडा वान्ता गर्ने लक्षण देखिएको छ । करिब १२ जना बालवालिका गम्भिर रहेका छन् । पहिलो दिन औषधि दिएर ज्वरो घटेका विरामीको दोस्रो दिन परिक्षण गर्दा समेत उस्तै अवस्था भएपछि समस्या भएको डाक्टर शेर्पाले बताउनुभयो ।

विरामीहरुको उपचारका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र सोताङबाट डाक्टर शेर्पाको नेतृत्वमा ल्याब असिसेन्टट भक्ति फडेरा, अनमी दिपा शेर्पा, पशी शेर्पा, कार्यालय सहयोगी कमल बस्नेत गरी ५ जना र बुङ स्वास्थ्य चौकीबाट अहेव खेमराज बस्नेत, अनमी मनकुमारी राई, मनहरा राईको टोली खटिएको छ ।

डाक्टर शेर्पाले एकै पटक धेरैलाई सक्रमण भएकाले क्रास उत्पन्न भएपनि अभिभावकलाई नआत्तिन आग्रह गर्नुभयो । उहाँले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जिल्ला स्वास्थ्य कार्यालय मार्फत जानकारी गराइएको भन्दै विहीबार सम्म स्वास्थ्य कर्मीको टोली आएर स्याम्पल कलेक्सन गर्न सक्ने बताउनुभयो ।
तत्कालका लागि अभिभावकले कुनै पनि त्यस्तो लक्षण चिन्ह देखिएको अस्पताल गई हाल्न सुझाव दिनुभयो । राई बस्तीमा सुगुर पालन व्यवसाय संचालन गरिएकाले त्यस्ता घरपालुवा जनावरबाट बालवालिकालाई टाढा राख्न, संक्रमित बाट अर्को स्वस्थ व्यक्तिमा भाइरल सर्न नदिनका लागि खोक्दा मुख छोपेर खोक्न, सरसफाईमा ध्यान दिन, तातो झोलिलो खानेकुरा बढि खान सुझाव दिनुभएको छ ।
यसैबीच पेल्माङ आधारभुत विद्यालय ६ गते सम्मका लागि बन्द गरिएको प्रधानाध्यापक टंकबहादुर दाहालले जानकारी दिनुभयो । मंगलबार आज विद्यालय व्यवस्थापन समितिको वैठक बसेर विद्यालय विदा गर्ने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दिलिप कुमार राईले बताउनुभयो । पेल्माङ आधारभुत विद्यालयमा ४ सय १८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

27 पटक हेरिएकाे
Top