अध्यारोबाट मुक्त भए ख्याटुङ र डिल्लिबरबासी

E Naya Khabar Reporter २०७४ पुस २० गते बिहीवार | Big News, अर्थ

 

ख्याटुङ, पुस १९

उदयपुरको पहाडी गाउँ ख्याटुङ र डिल्लिबरका बासिन्दाहरुले घर घरमा बत्ति बालेर बर्षौको सपना साकार पारेका छन् । शहरबजारमा मात्र विजुली बत्ति बलेको देखेका रौतामाई गाउँपालिका वडा नं. ८ अन्तर्गतका दुई गाउँका २८ घरपरिवारको बत्ति बाल्न पाएर सपना साकार भएको हो ।

फलामेखोला सुधारिएको पानीघट्टा सामुदायिक विद्युतीकरण आयोजनाबाट गाउँमा बत्ति बाल्न पाएका हुन् । उपभोक्ता आफैलेसमेत प्रतिघर १४ रुपैयाका दरले ५ लाख ८१ हजार ४० रुपैया आर्थिक संकलन गरिएको आयोजना, दातृनिकाय जीआईजेडबाट ४ लाख ५० हजार, रौतामाई गाउँपालिकाबाट २ लाख र जनश्रमदान ३ लाख, ४० हजार २२० रुपैयागरी कुल १५ लाख ७१ हजार २६० लागतमा निर्माण सम्पन्न भएको स्थानीय हस्तबहादुर बलम्पाकीले बताए ।

आरेक नेपाल उदयपुरको सामाजिक परिचालन तथा ग्रामिण उर्जा तथा प्रविधी सेवा केन्द्रको प्राविधिक सहयोगमा तीन महिनाभित्रै योजना सम्पन्न भइ उपभोक्ताले बत्ति बाल्न पाएका थिए । उक्त योजना अन्तर्गत उपभोक्ताले बत्तिका साथै सुधारिएको पानी घट्टाको सुविधासमेत पाएका छन् । साढे दुई मेगावाटको उक्त हाइड्रोपावरबाट बत्तिका साथै पानीघट्टासमेत सन्चालनमा आएपछि गाउँलेहरुमा खुसिको सिमा छैन ।

घरमा बत्ति बलेपछि अध्यारो हटेर गाउँनै उज्यालो भएको, उज्यालोका कारण राती घरधन्दा गर्न, केटाकेटीलाई पढ्न, रेडियो, टिभि चलाउन सजिलो भएको स्थानीय पत्निमाया मगरले बताए । पानी घट्टामा अन्न कुटान पिसान गर्न सुविधा र सहुलियत भएकोमा उपभोक्ता खुसी छन् । एक समारोहकाबीच स्विच थिचेर विजुलीको उज्यालो छर्दै जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले सोमबार उद्घाटन गरे ।

नेकपा एमाले जिल्ला सचिव परमेश्वर घिमिरे, समन्वय समितिका उपप्रमुख गंगा राई, गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, उपाध्यक्ष कुमारी राना ज्यु ठकुरी लगायत वार्ड अध्यक्षहरु, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, पत्रकारसमेतको उपस्थितिमा भएको उद्घाटन समारोहमा वक्ताहरुले योजना सम्पन्न गराउन भूमिका खेल्ने सबैको प्रशंसा गरेका थिए । उपभोक्ताहरुले हाइड्रोपावरका लागि कुलो खनिएपनि कच्चिरुपमा निर्माण भएकाले बीचबीचमा पहिरोको समस्या रहेकोले बलियो कुलो बनाउन सहयोगको खाँचो रहेको एक मुखले अनुरोध गरेका छन् । बत्तिबालेपावत उपभोक्ताबाट मासिक सयरुपैया शुल्क उठाउने र उक्त रकमलाई मर्मत कार्य र हेरालुका लागि खर्च गर्ने उपभोक्ताहरुले नै निर्णय गरेका छन् ।

98 पटक हेरिएकाे
Top