उदयपुरमा सामी परियोजनाबाट १७ हजार युवाले लिए सेवा

E Naya Khabar Reporter २०७४ पुस १६ गते आइतवार | Big News, प्रवास

 

गाईघाट, पुस १६
सुरक्षित आप्रावासन (सामी) परियोजनाबाट हाल सम्म १६ हजार ९ सय ६२ जना लाभाम्वित भएको जनाएको छ ।
आईतबार जिसस हलमा सामी परियोजना अन्तर्गत भएका प्रयासहरु र चालु आर्थिक बर्षमा सन्चालन गरिने क्रियाकलाप सम्वन्धि पत्रकारहरुसँगको छलफल कार्यक्रममा उक्त जानकारी दिईएको हो ।
सामी परियोजनाका कार्यक्रम संयोजक सोनाम राईले परियोजना सुरु भएको २०७१।०७२ देखि मंसिर मसान्त सम्म २४ हजार तिन सय ९४ जनाले राहदानी बनाएकोमा ६९ प्रतिसत सेवाग्राहीलाई परामर्श सेवा प्रदान गरिएको बताईन । ‘आर्थिक बर्ष २०७१।०७२ र ०७२।७३ मा ५५ प्रतिसत, २०७३।७४ मा ९७ प्रतिसत र चालु आर्थिक बर्षको मंसिर मसान्त सम्म सत प्रतिसत प्रगति गरेका छौ ।’ उनले भनिन ‘यसरी हेर्दा सामीले बनाएको टार्गेटलाई मेन्टेन गरेका छौ ।’
सामी परियोजना लागु भएसगै हाल सम्म जम्मा १३२ वटा केशहरुमा कानुनी सहयोगका लागि दर्ता भएकोमा २३ जना ठगी केशका पीडितलाई एजेन्ट मेनपावर कम्पनीवाट १३ लाख ८० हजार रुपैया क्षतिपूर्ती असुल गर्न सफल भएको जनाइएको छ । विदेशमा मृत्यु भएका २० जना मृतकका परिवारलाई सामी परियोजनाकै कानुनी सहयोगमा बैदेशिक रोजगार प्रबद्र्धन बोर्डबाट २० मृतक परिवारले २ करोड २४ लाख ३० हजार रुपैया उपलब्ध गराएको संयोजक राईले बताईन । त्यसैगरी विदेशका फसेका २४ जनालाई उद्धार गर्नमा निशूल्क कानुनी सहयोग प्रदान गरिएको छ ।
जिल्ला समन्वय समितिका उप प्रमुख गंगा राईले सामीले तुलनात्मक रुपमा राम्रो काम गरेकाले यस कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताईन । उनले स्थानीय तहको नयाँ संरचनामा सामी परियोजना लगेर काम गर्नुपर्नेमा जोड दिईन ।
कार्यक्रममा श्रम मन्त्रालयका सामी परियोजना संयोजक सुर्य प्रसाद भण्डारीले सामी परियोजनाको उद्देश्य असुरक्षित बैदेशिक रोगजगारलाई नियन्त्रण गर्नु रहेको बताए । उनले भने ‘सामीले सकभर विदेश नजाउ भन्ने हो, जानै परेपनि सुरक्षित रुपमा सीप सिकेर मात्र जाने प्रोत्साहन गर्ने हो ।’
कार्यक्रममा पत्रकार स्वतन्त्र सेनानी कौशल चेम्जोङले आगामी कार्यक्रममा मिडिया सेक्टरलाई समेटन नसकेकोमा दुख व्यक्त गरे । उनले भने ‘यसअघि सामी परियोजनाबाट मिडियाबाट सन्देशमूलक कार्यक्रम र सूचनाहरुको लागि छुट्टै कार्यक्रम हुन्थ्यो यस बर्ष छुटेको जस्तो लागो त्यसलाई समेटनु आवश्यक हुन्छ ।’

67 पटक हेरिएकाे
Top