स्वतन्त्र सांसद भनेर भन्दा आत्मा दुख्दो रहेछ–संसद मगर

E Naya Khabar Reporter २०७४ पुस १३ गते बिहीवार | Big News, अन्तरवार्ता

 

नारायण बहादुर बुर्जा मगरको जन्म २०२१ साल बैशाख ५ गते बुबा ललित बहादुर र आमा निरमायाको कोखबाट साबिकको भुटार गाविसको ओख्रेनी भन्ने ठाउँमा भएको हो । मगरले प्रमाणपत्र तहसम्मको अध्ययन सक्नुभएको छ । नातामा काका पर्ने दुर्गा बुर्जा मगरको प्रेरणाले राजनितिमा होमिएको उनी बताउहुन्छ । उहाँले २०४४ सालको नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनको सदस्यता लिएसँगै राजनीति यात्रा थाल्नुभएको हो । उहाले जनमोर्चाको जिल्ला कमिटी सदस्य हुदै उपाध्यक्ष, २०६४ सालमा नेकपा एकता केन्द्रको पार्टी सचिवको पनि जिम्मेवारी वहन गर्नु भयो । नेकपा माओवादी र नेकपा एकता केन्द्रको विचमा पार्टी एकता भए पश्चात एकृकीत नेकपा माओवादीको पार्टी सहसचिव हुर्दै २०७० सालमा सम्पन्न पार्टीको सम्मेलनबाट जिल्ला सचिवमा निर्वाचित हुनु भयो । २०७३ सालमा माओवादी केन्द्रको सह इन्चार्ज हुनु भयो ।
यस बाहेक सामुदायिक वन उपभोक्ता समूह महासंघको जिल्ला अध्यक्ष, अस्पताल विकास समितिको २०६४ देखि ०६९ साल सम्म अध्यक्षको समेत कुशलता पूर्वक जिम्मेवारी वहन गरिसक्नु भएको छ । यीनै समसामयिक विषयबस्तुबारे जनभाव दैनिकले नरायण बुर्जा मगर सँग गरेको कुराकानी ।
तपाईको चुनावी राजनीतिक यात्राको बारेमा बताई दिनुस् न ?
म २०४४ साल देखि राजनीतिमा लागेको हुँ । जनमोर्चाको सदस्य हुदाँ २०४८ को चुनावमा साविक भुट्टार गाविसको वडा नम्बर ८ र २०५४ को चुनावमा भलाडाडा गाविसको वडा नं. ९ को वडा अध्यक्ष पद उम्मेदवार बनेको थिए । पार्टीको निर्णय अनुसार २०६४ मा भएको पहिलो संविधानसभाको चुनावमा उदयपुर क्षेत्र नम्बर २ बाट चुनावमा उठेको पनि सफलहुन सकिन । यसपटक चाहि वाम गठबन्धनको तर्फबाट क्षेत्र नं. २ को (क) बाट प्रदेश सभामा विजयी हुन सफल भए ।
तपाई त माओवादी केन्द्रको नेता, कसरी स्वतन्त्र उम्मेद्वार बन्नु भयो ? खास कारण चाहि के हो ?
म अहिले पनि नेकपा (माओवादी केन्द्र) को सह इन्चार्जको जिम्मेवारी छु । पार्टीले दशै अगाडी नै पार्टीले प्रदेश सभामा उम्मेद्वार सिफारिस गरेको थियो । पछि नेकपा (एमाले) र माओवादी केन्द्र विच वाम गठबन्धन बन्ने निर्णय भयो । गठबन्धन बने पछि मेरो नाम सिफारिस भएको क्षेत्र माओवादी केन्द्रको भागमा पर्यो तर टिकट वितरणमा केही प्राविधिक समस्या भयो । मेरो सिफारिस भएको स्थानमा माओवादी केन्द्रकी नेतृ तथा पूर्व सभाषद भेषकुमारी राउत जीको उम्मेद्वारी पर्न गयो । मैले पनि जिल्ला पार्टी निर्णयमा नै त्यस क्षेत्रमा स्वतन्त्र उम्मेद्वारी दर्ता गरे । पछि भेषकुमारी जीले उम्मेद्वारी फिर्ता लिएपछि पार्टीको चुनाव चिन्ह पनि फिर्ता हुदो रहेछ । मेरो उम्मेद्वारी चाहि स्वतन्त्र भयो, चुनवा चिन्ह पनि मैले पार्टीको लिन पाईन र भर्याङ छाप चिन्ह राखेर चुनाव लड्नु पर्याे । म वाम गठबन्धनको आधिकारीक उम्मेद्वार भएपनि स्वतन्त्र चुनाव चिन्हमा चुनाव लडेकोले कानुनी रुपममा स्वतन्त्र सांसद भएको छु ।
स्वतन्त्र सांसद भनेर सम्बोधन गर्दा कस्तो अनुभुति हुन्छ ?
आफूलाई स्वतन्त्र जनप्रतिनिधी भनिरहदा मेरो भित्र मनमा चाहि असजिलो हुदो रहेछ । मैले २५÷२६ इमान्दारीता पूर्वक कम्युनिष्ट पार्टीको संगठन निर्माणमा काम गरे तर पार्टीको आधिकारीक चुनाव चिन्ह लिएर लड्न नपाउँदा दुख लाग्छ । अहिले कानुनी रुपमा स्वतन्त्र सांसद भन्दा मलाई कता कता असजिलो हुन्छ । जे भए पनि म वाम गठबन्धनको उम्मेद्वार बनेर नै विजयी भएकोले त्यसमा चाहि गर्व लाग्छ । कसैले स्वतन्त्र सांसद भनी हाले पनि मैले हाँसेर वाम गठबन्धनको सांसद हुँ भनेर जवाफ फर्काउने गरेको छु ।
तपाईले निर्वाचन क्षेत्रको विकासको योजना कस्तो बनाउनु भएको छ ? पाँच वर्षमा के के गर्नु हुन्छ ?
जनप्रतिनिधीहरु जितेपछि जनताकोमा दोह¥याएर जाने चलनलाई म तोडन चाहान्छु । मेरो निर्वाचन क्षेत्रमा जम्मा २१ वटा वडा छन । तिन गाउँपालिकाको २१ वडा मध्ये महिनामा ५ वटा वडामा पुगेर त्यहाका समस्या हल गर्ने पहिलो मेरो योजना छ । ताकी जनताले नारायण बुर्जा हामी सगै छ भनेर महशुस गरुन । त्यस पछि हामीले चुनावमा प्रतिबद्धता व्यक्त गरेका कुराहरु गाउँपालिका सम्म पक्की बाटो, स्वच्छ खानेपानी, पुल, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्यको पहुच निर्माण गर्ने मेरो पहिलो प्राथामिकता हुने छ ।
चुनावमा घोषणा गरेका कुराहरु पुरा गर्न आर्थिक स्रोत त चाहिन्छ कसरी व्यवस्थापन गर्नुहुन्छ ?
आर्थिक स्रोतहरु धेरै छन उदयपुरमा त्यसलाई व्यवस्थापन गरे पछि चुनावमा गरेको प्रतिबद्धताहरु पुरा गर्न कठिनाई छैन । यहाँको खनिज, वन, कृषी लगायतका क्षेत्रबाट प्रसस्त आम्दानी हुन्छ । त्यही आम्दानी लगानी गरेर विकास निर्माणका पूर्वाधारहरु बनाउन सकिन्छ । उदयपुर जिल्लामा रहेको प्राकृतिक स्रोत साधनलाई व्यवस्थापन गरियो भने जनताले चाहे जस्तो गरि विकास गर्न सकिन्छ ।
अर्काे तिर सुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने हो भने राजस्व धेरै उठ्छ । ऐलानी जग्गालाई जग्गाधनी पुर्जा दिने गरी प्रदेशबाट कानुन बनाउने पहिलो प्राथामिकता हुनेछ ।
विपक्षी दललाई कसरी समेटेर अघि बढ्नु हुन्छ ?
चुनावको वेलामा प्रतिद्धन्द्धी भएपनि अहिले सबै एक भएका छौ । जनताले सबै उम्मेदवारलाई जिताउदैनन एकजनालाई मात्र जिताउने हुन त्यसकारण विपक्षी सबैलाई एक बनाएर अघि बढ्ने कोशिस गर्ने छु । विकास निर्माणका कुराहरुमा विपक्षी तथा प्रतिपक्षी दलको पनि सल्लाह सुझाव लिएर म काम गर्ने विश्वास दिलाउन चाहान्छु ।
अन्तमा, मतदाता, वाम गठबन्धनका कार्यकताहरुलाई के सन्देश दिन चाहानुहुन्छ ?
मलाई मतदान गरेर विजयी गराउनु हुने मतदातालाई धन्यवाद दिन चाहान्छु । त्यसमा पनि वाम गठबन्धनको तर्फबाट अहोरात्र खट्नुहुने माओवादी केन्द्र र नेकपा एमालेका सम्पूर्ण नेता कार्यकतालाई मैले हृदय देखिनै धन्यवाद दिन चाहान्छु । वामगठबन्धनको व्यानरमा मैले निर्वाचनमा विजयी हासिल गरेको हो । आगामी दिनमा म वाम गठबन्धनको निर्णय भन्दा बाहिर गएर काम गर्ने छैन भन्न चाहन्छु । साथै मेरो स्वतन्त्र उम्मेद्वारी दिने बेलामा प्रेरणा दिनुहुने माओवादी केन्द्रका पार्टी संयोजक दिवस जी, पूर्व अध्यक्ष अनिल जी, कुशल जी, पार्टी इन्चार्ज दिपक जी, केपी जी, २ नम्बरमा माननिय हिमाल जी, पूर्व माननिय भेष कुमारी जी लगाएत माओवादी केन्द्रमा सबै नेताहरु धन्यवादको पात्र हुनुहुन्छ । अन्तिममा चुनावमा खटनुहुने तपाई पत्रकारहरुलाई समेत म सम्झन चाहान्छु ।

280 पटक हेरिएकाे
Top