कांग्रेस पराजयपछिको भूमिका के हुने ?

मनोज कुमार कर्ण २०७४ पुस ११ गते मंगलवार | Big News, विचार ब्लग

 

नेपाली कांग्रेसले ईतिहासमा पञ्चायतको कालो छायांमा भन्दा कहिल्यै यस्तो पराजय कोहीपनि सभापतिको कार्यकालमा नभोगेको ईतिहास छ जबकि वर्तमान सभापति नै सबै कुराको जिम्मेवार छैनन् । एकातिर अधिकार खोज्ने समूह मधेशी, आदिवासी, जनजाती, महिलाहरूले कांग्रेससमेतबाट उपेक्षित भएको महशुस गरेका छन् भने कांग्रेसको सहमतिविना कुनैपनि समूहको माग सम्बोधनपनि भएको छैन । उपेन्द्र यादव र महन्त ठाकुरसँग गिरिजाबाबुले गरेका सम्झौताहरू २०६६ सालमा प्रचण्डको पछि पुनः प्रम बन्न भारतले नसघाएकोमा उनले मधेशीको माग र भारतले बोल्नेको ठिक उल्टो बोल्नेलाई कांग्रेसले मधेशनीति बनाएको छ, जसले हार भएको छ । अर्काेतिर चीन र युरोपियन युनियनले वाम अलायन्स गराएका र निर्वाचन जित्न हामीसंग रूपैयांको कमी छैन भनी काठमाडौंमा ईश्वर पोखरेलहरू स्वयंले गोप्य भेला गरि पछि नेपालबाट धर्मलाई नाश पर्ने भनेकोमा दाङ्गलगायतका ठाउंहरूबाट लगातार गाई काटिरहेको समाचार आईरहेका छन् । यी चुनौतिमाझ वामहरूद्वारा तैनाथ प्रहरी, कर्मचारीको भरमा केवल काठमाडौंमा बसेर निर्वाचन जित्न सकिन्छ भन्ने निष्कर्शको साथ कांग्रेसले सधैंभरी एउटै पुराना अनुहारलाई निर्वाचनमा उतारेको थियो । एक समयको हिरो सधैं हिरो नै रहंदैन भन्ने कांग्रेसले बुझेन । वामहरूको जीतले शेयरबजारको मूल्य झरेको छ भने विदेशी लगानीमा हात झिक्ने क्रम बढ्न थालेको छ । उता देशबाहिर कथित्, जनयुद्धको नाममा मान्छे मारेका प्रचण्ड बाहिर निस्कने वातावरण छैन अनि विदेशी लगानी भित्र्याउने गफ दिएर चुनाव जितेका छन् ।
पराजयका केही कारण
कांग्रेसको पराजयका विभिन्न कारणहरूमा आम पब्लिकको बुझाईमा अन्तर्घात, वाम एकता, क्षेत्रमा उम्मेदवार जनतासंग नभिज्नु, बिपिको विचार भनी संवैधानिक राजतन्त्र र हिन्दूत्वको मुद्दा त्याग्नु जस्तालाई लिन्छन् । तर म अलिकति फरक ढंगले बुझ्छु किनकि हिन्दूत्व र राजा पुनर्बहाली वा संवैधानिक राजा बोकेर कांग्रेसले जित्ने भए कांग्रेससंग कमल थापा र उनको पार्टी राप्रपा थियो भने यस अघि स्थानीय निकायको निर्वाचनमा उनै थापाले यस्तै एजेण्डा एमालेसंग बोकेर चुनावमा होमिएपनि एमाले एक नम्बर पोजिसनमा उभ्यो भने कमल थापाहरूको लज्जास्पद स्थिती रह्यो । त्यस्तै, यही एजेंडा लिएर नै कांग्रेस बीपीवादी पुच्छर (करूवा छाप) राखेर मीडीया र हरेक दृष्टिकोणले देशको केन्द्र काठमाडौंमा उम्मेदवारी दिएपनि साढे दुई सय÷तीनसय भोटमा चित बुझाएको छ । अतः प्रकाशमान सिंहलाई हराउने प्रपंच थियो भने नेपालमा हिन्दूत्व होस् तर राजाको कुनैपनि किसिमको वापसीको सम्भावना नहोस् भनेर देशैभरिका नतिजालाई बुझ्दा मूर्खलेपनि यहि निष्कर्श निकाल्नेछ । हो, प्रम शेरबहादुर देउवा वा कांग्रेसले भयंकर गल्ति गरेको चाहिं वामदेव गौतम एमालेको सेट प्रहरी र गुप्तचर निकायको रिपोर्टिङ्गमा भर प¥यो कि कांग्रेसको यस्तो पोजिसन नरहला ! निर्वाचनको बेला मैंले स्वयंले यस कुरोलाई कांग्रेसी कहलिने अनलाईनहरूलाई पनि कमेन्टहरू पटक–पटक लेखेर झस्काएकै हो तर मान्ने कस्ले ? गृहमंत्रालय पूरै वामपन्थिको सेवामा तल्लिन रहेको देखियो । जस्तैः गृहसचिव यतिसम्म गद्दारी गरे कांग्रेससंग कि प्रम देउवाको हातबाट नियुक्तिलिएर पनि गृहको सत्य अवस्थाबारे स्वयं गृहमन्त्री देउवालाई अवगत गराएन । गृहको निष्पक्ष भूमिकापनि निर्वाह गरेन भने गृहमन्त्रीको जीउज्यानको पनि सुरक्षाको ख्याल गरेन, मतदाताको झन के गर्नु ? यिनले गृहसचिव सम्हालेकै दिन मन्त्रालयको आधिकारीक सूचनामा मैंले सईसम्मको प्रहरीको प्रमोसन एक नम्बरमा राख्न गृहमन्त्रीलाई सुझाउंदै तपाईंपनि सफल सचिव बन्न उनीहरूको पीडालाई बुझ्नै पर्छ भनी कमेंट गरेको थिएं । उनै जुनियर प्रहरीहरूले सिरहामा स्वयं प्रम तथा गृहमन्त्री देउवाले सम्बोधन गरिरहंदा ‘हामी पर बसौं, उडाई देवोस् यसलाई, हामीलाई के ? हाम्रो प्रमोसन यसैले रोकेकोले कांग्रेसलाई हराऔं’ भन्दै नवराज सिलवालको भाषा बोलेको प्रहरीकै अनुगमनको मान्छेले हामीसंग शेयर गर्छन् ! गृहसचिवलाई यति सम्बेदनशील कुरा थाहा नभएको उनले गंगाजीमा पसेरपनि कसम खान्छन् भने बेवकूफले पत्याउलान्, हामी पत्याउंदैनौं । त्यस्तै, यतिसम्म गृहसचिवले वामपन्थीसंग डराए वा कांग्रेससंग गद्दारी गरे कि बम विस्फोटका घट्नाहरू एमाले र माओवादीको आग्रहमा विप्लवले गराईरहेको तथा स्वयं वाम अलायन्सको संलग्नता छ भनेर कहिल्यै बोलेनन् किनकि विप्लवले अन्त्यमा स्वयंले जिम्मा लिए भने सो अघि नै रोल्पामा झक्कु सुवेदीको छोरा र यता नविना लामाको बुवालाई प्रहरीले कथित् विप्लवसमूह भनी समातिसकेको थियो ।
कांग्रेस पार्टीको ‘विशेषता’ मधेशीलाई धोकादिने र ठग्ने यसपालीपनि रह्यो । चुनावको करिब आठ दिन अगाडी हामी केही मधेशी प्राध्यापकलाई बोलाएर ‘मधेश सांच्चिकै सबभन्दा उपेक्षित नै छ किनकि सबै प्रदेशभन्दा मधेशको मानवविकास सूचकांक तल्लोस्त्तरमा छ । अब के अजेण्डालिएर जांदा हुन्छ वा नेताले बोल्दा हुन्छ ?’ भनी सोद्धदा मौखिक र लिखित सबै दिईयो तर केहीपनि अमल गरिएन । सिरहामा प्रदिप गिरिजीले मसंग सम्पर्क नहुंदापनि अन्य मार्फत् मेरा केही सुझावमाथि कम समयमा जति नै भ्याएपनि अमल गरे, मज्जाले चुनावपनि जिते ।
केही कथित् कांग्रेसी मीडीया (घट्ना र विचारलगायत)ले विमलेन्द्र निधि, देउवा दम्पत्ति, कृष्ण सिटौलालगायतलाई लगातार हार्ने आशयका समाचार र लेख निर्वाचन अघि देखि पस्किंदै आयो । विमलेन्द्र निधिलाई त उनले सौताकै छोरा बनाएको थियो । उनको पत्रिकामा राजावादी र हिन्दूको अजेण्डा रहेपनि त्यहीं गणतन्त्रवादी प्रचण्डलगायत कांग्रेसकै कतिले जितेका छन् जसको विपक्षमा कहिल्यै नेगेटिभ कुरा गरिएन भने मधेशीको हकहीतको जहिलेपनि विरूद्धमा विषवमन गरेको त्यसमा पढ्न पाईन्छ ।
यसपछि कांग्रेसले मधेशको मानव विकास सूचकांक देशकै सबभन्दा तल छ भनी निर्वाचनको आठ दिन अगाडी हामीलाई सुनाउंछ । पहिलादेखि हामीले मीडीयामा दिंदा पत्याएन । क्षेत्रमा पुग्दा उम्मेदवारको अतोपतो थिएन, हामी स्वयंले खट्नु प¥यो । यहांसम्म कि हाम्रो महोत्तरी ४ का वाम उम्मेदवार मो. रजी हैदरले पाकिस्तानी झंडा लिएरै कार्यकर्ता मोटरसाईकलमा कुदाएर वामहरूको राष्ट्रियता देखाए भने पैसाको खोलो नै बगाए ।
विमलेन्द्र किन हारे र यसको दुष्प्रभाव
विमलेन्द्र निधिमाथि प्रम देउवाका टीमबाट नै उपसभापति बन्न र देउवा–निधिको जोडी टुटाउन निकै षड्यन्त्र भयो । राजावादी, वामपंथीबाट त त्यसै षड्यन्त्र थियो जुन निर्वाचनको अघिल्लो रातमात्रै वाम मतहरू महतोमा हाल्ने विधिवत् निर्णहरू गरिएकोबाट बाहिर आयो तर निधिमाथिको षड्यन्त्र मैंले निर्वाचनको पन्ध्र÷बीसदिन अघिदेखि नै पोष्ट गरिरहेको थिएं तर कांग्रेसी कोही मीडीयाकर्मीको त्योपनि निर्वाचनको बेला कसरी आंखा परेन, आश्चर्यको विषय हो । साथै, सिरहा घट्नामा मधेशीलाई विमलेन्द्र निधिले मारेको भनी धुंवादार प्रसारण राजेन्द्र महतो, एमालेले ग¥यो तर कांग्रेसी मीडीयाले त्यसमा वामदेव गौतमका सीडीयो, प्रहरी अधिकृतले मधेशीलाई गोली मार्न लगाएको कुरा कहिल्यै लेखेनन् भने हिजो सप्तरी घट्नाका दुई जानी दुश्मन एमालेका केपी ओली र तत्कालीन मधेशवादी नेता राजेन्द्र महतो कसरी र किन धनुषा ३ मा विलमेन्द्र निधिविरूद्ध सुपर ग्लूले टांसिए ? किन नाकाबन्दीको बेला राजेन्द्र महतोले म अब माग पूरा नहुञ्जेल काठमाडौं नफर्किने भनेर गएका मान्छेले दिल्लीबाट सिधै बालुवाटारमा प्रम केपी ओलीकोमा पुगे ? त्यहां दस करोड रूपैयांको डील गरेकोलाई स्वयं डिफेन्स गर्नुपर्दैन ? लठैत् लगाएर गालीग्लौज गर्न मिल्छ ? उनी कुन पैसा निर्वाचनमा वितरण गरे ? देवी चौकमा समातिएका पनि हुन् । निधि काठमाडांैमा अरूको घरमा वास गरि बस्ने तर महतोको आलिशान बंगलाहरू देशैभर तथा विभिन्न अस्पताल, प्लस टुहरूमा हुने ! कहां नेता निधि मधेश नेपालमै सधैं रहोस् सोच्ने मान्छे र नेपालभरीकै जनताको जात, धर्म, गोत्र, क्षेत्र नसोधी काम गर्ने मान्छे, कहां महतो मधेश टुक्रयाउने र केवल मालपानीवालालाई भेट्ने र दानदक्षिणासहित उनकै र एमालेको भाषामा केवल पच्चपनियां र सोल्हकनको काम गर्ने मान्छे ! कहां निधि गरिबहरूलाई स्कलरशीपहरूमा हेर्ने भने कहां महतो भारतीय दूतावासबाट मधेशी नेता भनेर मेडीकल, ईन्जिनियरिङ, स–साना बच्चाको स्कलरशीप स्किमहरूमा पार्टीको ‘चन्दा’ लिएर पठाउने मान्छे ! राष्ट्रिय सर्वपक्षिय नेता निधि बनाम् तेली–सूंडीको र क्षेत्रीय नेता महतो !
निधिको हारमा राजेन्द्र महतोले अब प्रदेश २ को राजधानी जनकपुरलाई क्रस गरेर सर्लाहीमा लान खोजेपनि पहिले राजा ज्ञानेन्द्रले लान खोजेको ठाउं पहडीया वस्ती तथा सिन्धुलीको नजिक केपी ओलीले लानेछन् । राजेन्द्र महतोले यसलगायत ओलीको मधेशीविरोधी मिसनमा रोडा बने र मधेश आन्दोलनको कुरा गरे भने ओलीले नक्कली नागरिकता केसमा जेल पठाईदिएर ‘सम्मान’ गरिदिने पक्का छ । तर सो अघि विश्वस्त स्रोत अनुसार महतो एमालेमा प्रवेश गर्दैछन् । निधिको हारले प्रदेशको विकास, राजर्षी जनक शिशु विश्वविद्यालयको व्यवस्थापन, निर्माणाधीन सडकहरू सबै ओलीको नजरमा ओझेलपरि चीनका रेलवे र अन्य वस्तु मधेशमा समेत भित्र्याउने मात्र नभई कम्युनिज्मको दबदबामा नेपालको विदेशनीति तटस्थबाट ढल्काएर चीनतिर कम्तिमा दोक्लम मुद्दामा पारिनेछ भने चीनीयां सैनिक नेपालको मधेशको भएर भारतको बोर्डरमा तैनाथ गरिने लगभग पक्का छ । अर्थात्, चीनको एग्रेसिभनेसमा नेपालको साथले एकसाथ चीन र भारतबाट नेपालको अस्तित्वमै चेक परिसकेको छ । स्मरणीय छ, नाकाबन्दीको बेला हाम्रो क्याम्पस र काठमाडौंमा मधेशीलाई देख्दा कम्युनिस्टहरूले ‘बरू मधेशलिएर उतै जावोस् मधिसेहरू !’ भन्थे अर्थात्, वामहरूको चीनीयां हस्तक्षेप नेपालमा निम्त्याउने प्रिप्लान्ड हो । मलाई लाग्छ, पहाडमा केवल पहाडी वाहुणको पार्टी एमाले र ओली तथा मधेशमा केवल सूंडीको नेता राजेन्द्र महतो जस्ताहरूलाई स्याचुरेट गर्न वामहरूले वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई राजनीतिको बाटो पहिल्याए झैं कांग्रेसलेपनि निधिको मुद्दामा गर्नैपर्छ । किनकि विकास, संविधान संशोधन, वाम अतिवादलाई लङ्गटर्ममा रोक्ने, मधेशका समस्याहरू सम्बोधन गर्ने सवालहरू जिवितै छन् ।
कांग्रेसले के गर्ने अब ?
कांग्रेसले राजनीतिक, संवैधानिक, आर्थिक, सामाजिक, विश्वविद्यालय, सरकारी कार्यालय, कर्मचारी, विदेशमा कांग्रेसको पोजिसन बनाउने मान्छे, सोसल, प्रिन्ट, अडियो, भिजुअल, ईलेक्ट्रोनिक मीडीयामा कांग्रेसको पोजिसन र कम्युनिस्टको गोयबल्स शैलीको आक्रमणबाट जोगाउने आदिको लागि चुस्त–दुरूस्त मान्छेको टीम बनाउनुपर्छ । अर्ली महाधिवेसनभन्दा पनि कार्यसमिति÷महासमितिको भेला बोलाएर अनुशासीत भई निर्मम समिक्षा गर्नुपर्छ भने आर्थिक पारदर्शीता अपनाउनु पर्नेछ । कांग्रेसले विगतमा संविधानसभाको निर्वाचनको लागि बीपीले राजा त्रिभुवनसंग सर्वोच्च अदालतमा मुद्दा लडेको देखि चीनीले नेपाली भू–भाग हडप्पन खोज्दा कसरी बीपीले युएनओको नक्सा माओत्से तुङ्गलाई देखाई जोगाए जसलाई कीर्तिनिधि विष्टले सिंहदरबार आगलागीमा जलाए जस्ता सबै राम्रा कामको प्रचारप्रसार राम्ररी जनतामा गर्नुप¥यो । सबै दोष सभापति देउवाले लिनु जरूरी छैन, अरू पनि निर्वाचनमा परिचालित थिए । मधेश मिसनमा पुरैत सदाबहार केवल कोठामा बस्ने मधेशीया विद्वत्लाई छोडेर कांग्रेसले सबै मधेशी बुद्धिजिवीको कुरा जिल्लाजिल्ला र सानेपामा छलफल चलाएर प्वाईन्टस् लिएर प्रदेश २ को विकास र सम्मान अधिकारसहित दिलाउनु प¥यो ।

मधेशमा जांदा मधेशमाथि कार्यपत्र ईटहरीमा प्रदीप गिरी र गगन थापाले नगरेर जन्म र क्षेत्रको अनुसार ठेट मधेशीलाई गर्न दिनुप¥यो वा मधेशमा पहाडीले गर्ने भए पहाड र उपत्यकामा मधेशीलाई बुद्धि लगाउन दिनुप¥यो । कांग्रेस बर्चस्वको प्रिन्ट र अडियो–भिजुअल मीडीया तुरून्त खोलिनु प¥यो । संसदीय मामिलामा केवल विरोधको लागि वामपंथीको विरोध नगरी विदेशीको हस्तक्षेप हुने अजेण्डालाई रोक्ने, वामपंथी स्वयंले जनताको राहत तथा रोजगार सिर्जनागर्ने नारा दिएकामा अब दायांबायां गर्दा विरोध गर्ने । विशुद्ध विकास, गरिबी उन्मुलन, राहत, महंगी नियन्त्रण, कालाबजारी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, वामहरूले कांग्रेसलाई प्रो–इन्डियन भनेकामा अब वामहरूले चीन÷भारतलगायत विश्वसंगै धर्मनिरपेक्षताको गलत प्रयोग, हिन्दूत्वमाथिको आक्रमण, गाईकाट्ने, नदीनालाहरूको सम्झौताहरू, विदेशी कम्पणीलाई कसरी विकासमा खटाए आदिबारे गहन अध्ययन गरि सप्रमाण संसद र मीडीयामा प्रस्तुत हुने ।

भारतमै कुनै बेलाको बीजेपी तीन सिट लिएर आज कसरी दुई तिहाईमा देशैभर संगठन गरेर बसेको छ वा इन्दिरा गांधीले कंग्रेस आई सोत्तर परेको बेला कसरी हरेक गाउं र घर स्वयं तथा कार्यकर्तालाई पठाई माफी मागी जनताको समस्या बुझेर फेरी पावरमा आईन्, त्यो अलि वाम सरकारको केही पछि गर्दा हुन्छ । नेतृत्व परिवर्तनमा मैं लायक हँु भन्दै कराउनेहरू यति शर्मनाक पराजयपछिपनि छन् । प्रकाशमान सिंह सुशील दा’को विजयी महामन्त्री रहंदापनि सबै काम मनोनित कृष्ण सिटौलाले गरेका कोही कांग्रेसीले बिर्सेका छैनन् भने भर्खर निवर्तमान महामंत्रीमा गगन थापाले हारेर दानमा केन्द्रीय सदस्य पाएकाले सबै सिनियरलाई अपमान गर्दै बोल्नु उचित होइन ।

सहिष्णुता, अर्काले बोल्दा बिचमा प्वाक्क नबोली सुन्ने धैर्यता, कडा अनुशासन सबै कांग्रेसीमा देखिनु पर्छ । नेतृत्वमा अधिक युवापुस्तालाई राख्ने हो तर सबै युवामा नै छोड्नु आत्मघाती हुनेछ । शेरबहादुर देउवाले नै वर्तमानमा नेतृत्व दिनुपर्छ दिन दिनुपर्छ । हामी कम्युनिस्ट उच्छृंखल होइन, दन्तबजान गर्ने हो तर मन माझेर एक हुने हो ।

160 पटक हेरिएकाे
Top