यसकारण सम्भव छैन तत्काल एमाले माओवादी केन्द्र पार्टी एकता

TV-Annapurna/राजु सुवेदी । २०७४ पुस ४ गते मंगलवार | Big News, विचार ब्लग

 

नेपालका राजनीतिक दलमा टुटफुट र विभाजनको इतिहास लामो छ । यद्यपी पछिल्लो एउटै कम्युनिष्ट केन्द्र बनाउने  पहलले नेपाली राजनीतिमा आसा पलाएको छ । अस्थिर राजनीतिको खास कारण नेपाली राजनीतिमा बैदेशिक हस्तक्षेपको प्रभाव दलगत विभाजन नै थियो । यहि आम बुझाईको कारण पनि झण्डै ८० प्रतिशत बढि कम्युनिष्ट मतदातालाई एउटै धारमा बगाउने प्रयत्न केही चुनौतिपूर्ण भएपनि जनतामा आशाको सञ्चार गराउने खास कडि थियो । जसको पहिलो खुड्किलाको रुपमा हेरिएको चुनावी तालमेल पुरै सफल भएको छ । एमाले माओवादी केन्द्रको ५ बर्षे स्थाई सरकारको एजेण्डा मतदाताले आँखा चिम्लेर अनुमोदन गरिदिएका छन । देशभरको मतगणनाको नतिजा आईसकेको छ । जसले यो गठबन्धनलाई स्पष्ट बहुमत दिएको छ । तर बाम गठबन्धनले भन्दै आएको स्पष्ट बहुमतसहित समृद्धिको अभियान थाल्ने अबको यात्रा कसरी तय हुन्छ त भन्ने जिज्ञासा भने आम मतदातामा झनपछि झन चुलिदैं गएको छ ।

सामन्यतय बामगठबन्धनबीच भएका जस्तै चुनावी तालमेल यसअघि पनि बेला बेला नभएका होईनन । चुनावैपिच्छे नतिजा आफ्नै पोल्टामा पार्ने उदेश्यले भएका त्यस्ता गठबन्धनलाई तत्कालिन रुपमा हुने हार जितसँग मात्रै जोडेर हेर्ने गरिएको भएपनि यसपटक यत्तिले सुख पाउने अवस्था छैन ।

स्थाई सरकारमार्फत समृद्धिको एजेण्डा, एउटै कम्युनिष्ट केन्द्रको दिर्घकालिन उदेश्यसहित तत्काल दुई पार्टीबीचको एकिकरण मुल एजेण्डा थियो । यस बिषयमा जनतालाई दुवै दलले चुनावी अभियानमै आस्वस्त पारेका छन । त्यसो त चुनावी अभियानमा दलहरुले अघि सार्ने एजेण्डा कार्यान्वयन नहुने नेपालको राजनीतिक रोग पुरानै हो । यहि कारण पनि जनतामा यसपटकपनि बामगठबन्धनले अघि सारेका केही महत्वपूर्ण एजेण्डा माथीको शंसय स्वभाविक पनि छ । मुख्यतयः यो बिषय एमाले र माओवादीबीचको पार्टी एकता नै हो । जनताका बीच एमाले र माओवादीबीच अनौपचारिक रुपमा पार्टी एकताको पहल शुरु भईसकेको दुवै दलका शिर्ष नेताहरुले उद्घोष गरिसकेका छन । औपचारिक घोषणा मात्रै बाँकी रहेको भन्न भ्याईसकेकाहरु बीचैमा पाकेको खिचँडीको गन्ध पाएका छन् वा छैनन तर पंक्तिकार भने यहि खिचँडी पस्कने प्रयत्नमा छ । माओवादी केन्द्र र एमालेबीचको चुनावी तालमेलको योजना हप्तापहिले नै सार्वजनिक गरेर आलोचना खेपेको पक्तिकारलाई यो बिषय निक्कै महत्वको पनि थियो ।

यसबीचमा एमाले अध्यक्ष केपी शर्मां ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित दलका दोस्रो तहका नेताहरुसँग धेरै चरणका संवाद भए । एकताको सुत्राधार मानिएका वामदेव गौतम र माधव कुमार नेपालसहित नारायकाजी श्रेष्ठ जनार्दन शर्मासहितको प्रतिक्रियाहरु सुनियो । बैदेशिक चलखेलकै कारण सम्भव बनेको भनिएको एकताको मुख्य योजनाकार शक्तिराष्ट्र चीन र भारतको गतिबिधीबारे पनि सुक्ष्म अध्ययन भयो । यिनै यावत घटनाक्रमले एमाले माओवादी केन्द्रबीचको एकताको बिषय करिब करिब टुंगिएको निष्कर्ष पुगेको छ ।

यसकारण सम्भव छैन माओवादी केन्द्र र एमालेको पार्टी एकताः

पहिलो त माओवादी केन्द्र र एमालेबीचको पार्टी एकिकरण व्यापारीहरुले बैंक जोडेझै जोडिने बिषय थिएन । केही सैद्धान्तिक बिषयमा दुईदलबीचको बैचारिक अडान, ऐतिहासिक पृष्ठभुमि, र नेतृत्वको कार्यशैलि लगायतका धेरै कुराले पार्टी जुट्ने र फुट्ने कुराको निर्धारण गर्दछ । मुखले बोलेजस्तै, सभामा फलाकेजस्तै वा कुनै अन्तरवार्तामा पत्रकारको जिज्ञासा साम्य पार्ने भाषाजस्तै सजिलो हुन्थ्यो भने एमाले माओवादी केन्द्रबीचको एकता चुनावअघि नै सम्भव थियो । जसले बाम गठबन्धनले प्राप्त गरेको अहिलेको सिटभन्दा अझै बढिको सम्भावना थियो । तर यो एकता कुनै जोश लहड वा तत्कालिन संवेगले सम्भव थिएन । यहि कारण एउटै कम्युनिष्ट केन्द्रदेखी समाजवाद उन्मुख व्यवस्था स्थापनाको एजेण्डा कोरेर तय भएको यात्रा चुनावी परिणामसम्म आईपुग्दा अर्को मोडमा आईपुगेको छ । नेताहरूमा व्यप्त अवसरवादी चरित्र र ढुलमुले स्वभावका कारण एमाले माओवादीको एकता तत्काल सम्भव छैन भन्ने देखाईसकेको छ ।

एकता र विभाजनमा प्रत्यक्ष बैदेशिक हस्तक्षेपः

पृथ्वीनारायण शाहले भनेझै नेपाल दुई ढुङ्गाबीचकै तरुल हो । चीन र भारतको नेपाल हेर्ने रणनीति अस्भाविक छ ।

भारतसँगको खुलासिमाका कारण नेपालमा हुने हरेक गतिविधी दुवै देशका चासोका बिषय हुन । यद्यपी यि देशले नेपाललाई हेर्ने दिष्ट्रिकोण भने यो भन्दा बढि अस्वभाविक छ । वाम दल भारतसँग टाढिँने र चीनसँगको सम्बन्ध झन मजबुत हुने हो कि भन्ने चिन्ता भारतलाई छ । नेपालमा वाम गठबन्धनको लहर आएलगत्तै भारतीय सञ्चार माध्यममा यो खास बहसको बिषय बन्यो । चर्चित पत्रिका द हिन्दुस्तान टाइम्सले लेख्यो ‘नेपालमा कम्युनिष्ट सत्तामा आउन ठिक्क परेको बेला भारतका लागि हौवाको रुपमा रहेका केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित छ । भारतीय बिश्लेषक एंव कुटनीतिक मामिलाका जानकार ब्रह्मा चलानीले नेपालको कम्युनिस्ट सरकार बेइजिङप्रति बफादार हुने बताएका छन् । उनले एकपत्रिकामार्फत प्रस्तुत गरेको विश्लेषणमा ‘छरिएर रहेका कम्युनिस्ट पार्टीलाई एकजुट पारेर चीनले नेपाल भारतबीचमा खेलेको आरोप सम्म लगाए । खास गरी चीनको प्रत्यक्ष निगरानीमा बनाइएको बाम गठबन्धनबाट नेपालको दक्षिणी छिमेकी लगायतका केही देशहरूलाई थ्रेट बढेको छ । भर्खरै नाकाबन्दीका कारण नेपालीमा छाएको भारत विरोधी भावनात्मक असरका कारण प्रतक्ष्य रूपमा भारतले वाम गठबन्धनको विरोध गर्न नसकेपनि भित्र भित्रै यो गठबन्धनलाई तोड्न अनेक प्रयत्न गरेको छ ।

अमेरिकाका परराष्ट्र मन्त्रालय हेर्ने प्रतिनिधि भारत आएर केही कुटनीतिक नियोगलाई राखेर नेपालमा भएको चीनको चलखेललाई कम गर्ने र कम्युनिस्ट गठबन्धनलाई एक हुन नदिने योजना बनाएको सम्मको चर्चा भारतीय मिडियामा छ । चीनको पछिल्लो नेपाल चासो भारत, अमेरिका र युरोपले देख्न चाहेका छैनन । केही समयदेखी नेपालका चाडपर्वदेखी नेपालका सामान्य घटनासम्ममा भारतीय मिडियाको चासोले नेपाल मामिलामा चीन प्रत्यक्ष सामेल हुन चाहेको संकेतका रुपमा धेरैले बुझेका छन । यत्तिमात्रै होईन भारतको सिधा बुझाई छ कि दुई कम्युनिष्ट पार्टी एक भएर सरकार गठन गरे त्यो चीनका लागि बढी फाइदाजनक हुनेछ ।

यो भारतले मात्रै होईन् युरोप र अमेरिकाले समेत भारत मार्फत चाल पाएका छन । भारतीय बिश्लेषक एंव राजनीतिज्ञ कपिल सिम्बलले त बामगठबन्धन चीनकै पर्दापछाडीको खेलले तयार भएको भन्दै अब बन्ने सरकारबाट उसले ठुलै फाईदा लिने सम्म भन्न भ्याएका छन । यसआधारमा पछिल्ला सबैजसो घटनाक्रमको बिश्लेषण गर्दा दुई पार्टी एक हुन नदिन भारतले सबै अस्त्र प्रयोग गर्नेछ ।

दुई पार्टी भित्रकै नेता कार्यकर्ताको असन्तुष्टि पार्टी एकताको चुनौती:

चुनावअघि धेरैले अप्रत्यासित भन्दै आएको बाम तालमेल न अप्रत्यासित थियो । नत संयोग मात्रै । बरु यसलाई नजिकबाट बुझेकाहरु नेपाली राजनीतिमा एमालेले खेलेको खतरनाक खेलको संज्ञा दिन्छन । सार्वजनिक हुनुभन्दा ३ महिनापहिले एमालेले कांग्रेससंग सरकारमा सांझेदार रहेको माओवादी अध्यक्ष प्रचण्डको ईमानको राजनीति गर्छु भन्ने सेखी झर्नकै लागी मात्रै यसको बिजारोपण भएको आंकलन गर्नेहरु अझै धेरै छन् । जुन समयले देखाउँदै जानेछ । तर स्थानीय निर्वाचनको नतिजाबाट अतालिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागी एमालेको प्रस्ताव संजिवनी हो भन्ने खुट्टाउन समय नलागेकै कारण सहज र धेरैका अप्रत्यासित जस्तै बन्न पुग्यो । तर माओवादी जोगाउने र एमालेलाई चिनाउने सवालमा यो स्वभाविक थियो चुनावी नतिजाले स्पष्ट पारिसकेको छ ।

वाम तालमेलका लागी दुईघटकबीच भएको ६०र४० को बाँडफाँड निक्कै बैज्ञानिक र सन्तुलित थियो । तर यसले दुवै दलका केही आकाक्षीहरुलाई समेट्न सकेन । यसबाट असन्तुष्ट केही नेताहरु दुई पार्टी एक भए आफ्नो भविष्य नबन्ने भन्दै यसको खिलाफमा समेत देखा परिसकेका छन । आफ्नो स्थान सुरक्षित नदेखेमा दुबै पार्टीका दोस्रो र तेस्रो तहका नेता असन्तुष्ट हुने र प्रक्रिया भाँड्ने प्रयास नगर्लान भन्न सकिन्न । पार्टी एकता भएमा ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष हुने कुरा बामतालमेलकै समयमा टुंगिएको भनिएकाले अहिले नै यो विषयमा हुने विवादको चर्चा नगरौँ । तर दोस्रो तहका नेताहरु, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, कृष्णबहादुर महरा, बामदेव गौतम, भिम रावल, ईश्वर पोख्रेल, वर्षमान पुन, रामबहादुर थापा बादल, लगायतका नेता, समग्र पार्टी पंक्ति र संगठनात्मक संरचनाको व्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ ।

मन्त्री बनेर सरकारमा जाने र पार्टी भित्रै आफ्नो स्थान सुरक्षित नदेखेमा उनिहरुबाटै च्याँखे थाप्ने काम नहोला भन्न सकिन्न । त्यसैले दुई पार्टीका नेता–कार्यकर्ताको चित्त बुझाउनु एमाले र माओवादी केन्द्रबीचको एकताका खास चुनौति बन्न सक्छन् ।

एमाले अध्यक्ष ओलीको चुनावपछिको बोलीः

माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन पहिलेको कसरत प्रशंशायोग्य थियो । सोही कारण गठबन्धनको पक्षमा उत्साजनक नतिजा मिल्यो । तालमेलको घोषणापूर्व नै प्रचण्ड र ओलीबीचको अबको नेतृत्वमा सहमति के भएको थियो भन्ने बारे लिखित दस्तावेज बाहिर नआएपनि अध्यक्ष र प्रधानमन्त्रीमा सहमति बनिसकेको स्रोतको दाबी छ ।

माओवादी केन्द्र निकट स्रोत बताउछ तालमेलको घोषणापूर्व नै एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री ओली र प्रचण्ड पार्टी अध्यक्ष बन्ने भद्र सहमति भैसकेको थियो । योसँगै यसबाहेकका अन्य केही बिषयहरुमा समेत यस्तै सहमति बनेको थियो । जसको अक्षरस कार्यन्वन हुनेमा प्रचण्ड ढुक्क छन । तर एमाले अध्यक्ष ओलीको पछिल्लो बोलीले भने यस्तो संकेत गर्दैन । बरु केही सञ्चारमाध्यमले राखेको जिज्ञासामा चर्चामा भएको भनिएको सहमति भन्दा फरक गन्ध आउने तर्क गर्न थालेका छन । चुनावअघि एउटै लवजमा मञ्चमा उभिने गरेका अध्यक्षद्धयमध्ये प्रचण्डले चुनावी नतिजापछि समेत प्रधानमन्त्री ओली बन्ने भनिरहदाँ ओलीको बोलीमा अध्यक्षमा प्रचण्डको गुञ्जायस कतै देखिदैन् । बरु एमालेले अध्यक्ष बुझाउनकै लागी पार्टी एकता गर्न आवस्याक नभएको सम्म एक टेलिभिजन अन्तरवार्तामा भन्न भ्याएका छन । पार्टीको मुख्य नेतृत्वमार्फत नेपाली राजनीतिको रोलमोडल बनेका प्रचण्डका लागी कार्यकारी प्रधानमन्त्री वा पार्टी अध्यक्षबाहेकमा राखेर पार्टी एकता सम्भव छैन । एकताका लागी प्रचण्डले अझै बढि लचक बन्ने भनेको बिशेष महाधिवेशमार्फत अध्यक्ष बन्ने विकल्प हुनसक्छ । तर एकतापछि हुने बिशेष महाधिवेशनबाट प्रचण्ड अध्यक्ष बन्ने छन भन्ने कसैको आँकलन छ भने त्यो दिवा स्वप्नामात्रै हो ।   किनकी अबको महाधिवेशनसम्म आईपुग्दा एमालेभित्रैका धेरै र माओवादी केन्द्रका केहीले अध्यक्ष पदका लागी आँखा लगाउन भ्याईसकेका छन । यहि कारण पार्टी एकता दुवै दलका नेता कार्यकर्ताका लागी प्रिय तर एकताको जोडघटाउ दुवैका लागी अप्रिय जस्तै बनेका छन । जसको गन्ध एमाले भित्रैका दोस्रो तहका नेताहरुको अभिव्यक्तिमा स्पष्ट आउन थालेको छ ।  दुईपार्टीबीचको एकता संयोजन समितीका सदस्यसमेत रहेका एमाले महासचिव ईश्वर पोखरेलले सार्वजनिक गरेका अभिव्यक्तिले यकिन भैसकेको छ की अब एमाले माओवादी केन्द्रलाई दोष थुपार्नेगरि एकता प्रक्रियाबाट बाहिरिनेछ ।

एकताका बाधक देखिएका बिषय यत्तिमा सिमित छैन । तालमेलकै बेला चुनाव जित्न सक्ने र आफ्नो बाहुल्य भएको स्थान राखेर बाँकी ठाँउ माओवादीलाई छाडेको सम्मका आरोपहरु माओवादीकै केही जिम्मेवार नेताहरुले लगाउन थालेका छन । चुनावको मुखमा पार्टीको उर्दीका कारण मन्द सुनिएका यस्ता आवाजहरु बिस्तारै बुलन्द हुन थाल्नेछन । यस्ता आवाजहरु चुलिदै गर्दा पार्टी बिर्सजनको आरोप खेपिरहेका प्रचण्डलाई आफ्नै नेता कार्यकर्ताका आवाज कुल्चेर अघि बढ्न सहज छैन । जुन एमाले माओवादी केन्द्रबीचको एकताको अर्को चुनौति हो ।

संसदको दोस्रो शक्ति नेपाली काँग्रेसमार्फत हुने चलखेलः

पछिल्लो निर्वाचनले तेस्रो दल बनाएको नेपाली काँग्रेस लगायतका दलले खेल्ने भुमिकाको समेत एमाले र माओवादीबीचको एकता प्रक्रियामा गहिरो प्रभाव पार्ने अर्को खतरा छ ।

चुनावअघि भएको सहमति र दुवै दलका नेताले भोट माग्दा जनतामा लिएर गएकै एजेण्डा स्थिर सरकारको थियो ।

मतदाताले उनिहरुको यो एजेण्डालाई अनुमोदन गरिदिएका छन । यस आधारमा अहिले प्राप्त मतलाई बिगतमा भएको सहमतिलाई साक्षी राखेर अघि बढे अबको बामपन्थी सरकार पाँच वर्षसम्म स्थिर रहनेछ । जसको प्रभाव केन्द्र सरकार र प्रादेशिक सरकारमा अनि उसले गर्ने राजनीतिक र कुटनीतिक नियुक्ति लगायतका क्षेत्रमा पर्नेछ । यसलाई संसदको दोस्रो शक्तिका रुपमा रहेको नेपाली काँग्रेसले राम्रैसँग बुझेको छ ।
जसका कारण काँग्रेस एमाले माओवादीबीचको एकता बिथोल्न भरसक कसरत गर्नेछ । यसको संकेत नेपाली काँग्रेसका केही नेताहरु गरिसकेका छन । दुई पार्टीबीच एकता बिथोल्न सके स्थानीय निर्वाचन अघि जस्तै कांग्रेस माओवादीको गठबन्धन बन्न कसैले रोक्ने छैन् । दुई दलबीच दरार पैदा गर्न सकेमात्रै आफ्नो भविष्य देखेको काँग्रेस मधेस केन्द्रीत दललाई सहमतिमा ल्याएर सरकारको नेतृत्व प्रचण्डलाई गराउने सम्मको कसरतमा लागी सकेको छ । जसका लागी नेपाली काँग्रेसले भारतसँग गुहारमागीसकेको छ ।

प्रदेशसभामा समेत एमाले र माओवादी एक भए ६ वटा प्रदेशमा दुई तिहाई बहुमतसहितको प्रादेशिक सरकार बन्ने भएकाले कांग्रेसको उपस्थिती सबै क्षेत्रमा शून्य हुनेछ । यस्तो अवस्थामा यता एमालेले हरेक प्रदेशको मुख्यमन्त्रीका लागी विभिन्न नामहरु अघि सारेर पार्टीपक्तिलाई उनिहरुकै पक्षमा लविङ चलाउन आन्तरिक सर्कुलर समेत गरिसकेको छ । तर माओवादीभित्र अहिलेसम्मपनि अन्योल रहेकै अवस्थालाई उपयोग गर्नेगरि माओवादीसँगको सहकार्यमा आफ्नो उपस्थिती शसक्त पार्ने नेपाली काँग्रेसको कसरत एमाले माओवादी केन्द्र एकतामा अर्को गम्भिर चुनौति बन्ने छ ।

एमाले माओवादी केन्द्रका बिद्यमान बैचारिक मतभिन्नताः

मतदातालाई आस्वस्त पार्न दुबै दलका नेताहरुले एमाले र माओवादी केन्द्रबीच कुनै बैचारिक दुरि नरहेको स्पष्ट पारिसकेका छन । चुनावी भाषणमा यस्तो धेरैपटक सुनिएपनि दुईदलबीच अहिलेपनि धेरै बिषयमा माओवादी केन्द्र र एमाले एकमत हुन सकेका छैनन । संविधान निमार्णताका कार्यकारी राष्ट्रपतिको पक्षमा दृढ माओवादी केन्द्रको एजेण्डा अल्पमतमा परेपनि उसको अडान अहिलेसम्म कायम छ । तर माओवादीको यो प्रस्तावलाई तत्कालिन अवस्थामा नकारेको एमालेले अहिले कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको हो भन्ने कुनै स्पष्ट आधार पेश गरेको अवस्था छैन ।

गठबन्धनताका दुबै दलले यो मुद्दालाई उठाउने सहमति भएको भनिएपनि माओवादी अध्यक्ष प्रचण्ड स्वयंम यो मुद्दामा एमालेले धोका दिने त्रासमा छन । अर्कोतर्फ माओवादीले आफ्नो सबैभन्दा ठुलो उपलब्धिको रुपमा लिएको शसस्त्र बिद्रोहलाई समेत एमालेले जनयुद्धको रुपमा स्विकार्नसम्म तयार छैन । बरु यसलाई एमाले अध्यक्ष केपी ओलीले चुनाव लगत्तै एउटा टेलिभिजन अन्र्तवार्तामा ऐतिहासिक भुलसम्म भन्न भ्याएका छन । यस्तो अवस्थामा माओवादीले भन्दै आएको महान जनयुद्धका बिषयमा प्रचण्डलाई ओलीको यहि भनाईलाई आत्मसाथ गर्न कार्यकर्ताले छुट दिने छैनन । यि तमाम कारणहरुले माओवादी केन्द्र र एमालेबीचको पार्टी एकता प्रक्रिया सहज देखिदैन ।

हो माओवादी अध्यक्ष प्रचण्डले भनेझै नेपालमा एउटै कम्युनिष्ट केन्द्र र समाजवाद सम्भव छ । तर चुनौतीपूर्ण पनि छ भन्ने हेक्का नराखेरै सतही अभिव्यक्ति अहिले दुबै दलका शिर्ष नेतृत्वले दिएका छन् । जुन कार्यान्वयन भए दुबै दलका आम कार्यकर्ताका लागी हर्षको सञ्चार गराउने माध्यम हुन सक्छ । तर तत्काल कार्यकर्ताकै सेन्टीमेसी खिच्न पार्टी एकताको ह्विम चलेपनि संगठन विचार र सैद्धान्तिक एकताका सवालमा दुबै पार्टीबीच न्युनतम आन्तरिक तयारी समेत देखिदैन् । बरु एक पार्टीले अर्कोलाई होच्याउने तिग्राउने जस्ता कृयाकलाप मार्फत कमजोर सावित गरेर आफैमा विलय गराउने कुटिल रणनीतिको गन्ध आउन थालिसकेको छ ।

हरेक दल र नेताहरुले भुल्नै नहुने कुरा पार्टीहरू कुनै निश्चित सामाजिक वर्गका प्रतिनिधि हुन । कुनै न कुनै वर्गका प्रतिनिधि हुनु वर्गीय बनोट असाध्यै छयासमिस हुनुले बिचार सिद्धान्त र वादमा समानता छैन । निहित विचार, आचरण र शैलीका कारण यि यावत बिचारलाई थाती राखेर एकअर्कोमा बिलयमा भैहालेको अवस्थालाई स्वभाविक मानिदिने बाहेक माओवादी केन्द्र र एमालेबीचको पार्टी एकता सम्भव छैन ।

114 पटक हेरिएकाे
Top